करसम्बन्धि सबै समस्या समाधान गर्न सरकार प्रतिवद्ध छः रक्षामन्त्री

१५ आश्विन २०७५, सोमबार १५:३०

 

काठमाडौं– रक्षामन्त्री इश्वर पोखरेलले करसम्बन्धि अराजकता फैंल्याउनेमाथि कडा कार्वाही गर्नु पर्नेमा जोड दिएका छन् । पोखरेलले दोहोरो कर लिए त्यसविरुद्ध प्रतिकारमा उत्रन पनि निजी क्षेत्रका व्यवसायीहरुलाई आह्वान गरे ।

सोमबार ललितपुर उद्योग वाणिज्य संघको ३९ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले स्थानीय, प्रदेश र संघीय सरकारबीच कानुनको ठेगान नलागेकाले कर सम्बन्धि अराजकता देखिएको उल्लेख गर्दै ती समस्या छिट्टै समाधान गर्ने आश्वासन पनि दिए । उनले सर्वसाधारणलाई मारमा पार्ने गरी सरकारले कर नलिने पनि स्पष्ट पारे ।

रक्षामन्त्री पोखरेलले करसम्बन्धि सबै समस्या समाधान गर्न सरकार प्रतिवद्ध भएर लागेको पनि बताए । कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले व्यवसायीहरु करको मारमा परेको भन्दै सरकारसँग गुनासो गरेका थिइन् ।

उनले स्थानीय र प्रदेश सरकारले दोहोरो करको मारमा पारेपछि व्यवसायीहरु आतंकित हुनु परेको पनि स्पष्ट पारे । महासंघले करको दायरा बढाउन तर दोहोरो करको मारमा नपार्न सरकारलाई दवाव दिँदै आएको छ ।