कम्युनिस्ट शक्ति देशका लागि दुर्भाग्यः महर

२६ पुष २०७७, आईतवार १३:००

 

सिरहा । नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले नेकपाका कारण शक्तिपृथकीरणमै आँच आएको बताएका छन् ।

लामो राजनीतिक संघर्षपछि प्राप्त उपलब्धि संकटमा परेको भन्दै नेता महरले लोकतन्त्र र संविधानवादको संरक्षण नै अहिलेको चुनौती रहेको बताए । सिरहाको लहानमा आयोजित पार्टी कार्यकर्तासँगको भेटघाटमा महरले भने,“अहिलेको अवस्था हेर्दा अदालत र सरकारसँग निरीह र अनुग्रही भएको त होइन भन्ने आशंका छ । अदालतमा नपुग्नुपर्ने विषय पूगेको छ, यसले चेक एन्ड ब्यालेन्समा समस्या हुनसक्छ ।”

नेपाल विद्यार्थी संघका पूर्वअध्यक्षसमेत रहेका महरले मुलुकलाई ध्रुवीकरणबाट रोक्ने जिम्मेवारी सर्वोच्च अदालतको काँधमा आएको बताएका छन् । नेकपाका कारण मुलुकमा बढेको ध्रुवीकरणले थप अस्थिरता ल्याउनेमा जोड दिँदै नेता महरले अदालतले संविधानको रक्षा गर्दै ध्रुवीकरणबाट रोक्न सक्ने बताए । महरले भने, “सर्वोच्चको निर्णयमा जति दिन ढिलाइ हुन्छ त्यत्ति नै मुलुक ध्रुवीकरणको बाटोमा अगाडि बढ्छ । यसले मुलुकमा फेरि संकट थपिँदै जान्छ ।”

कम्युनिस्ट शक्ति देशका लागि जहिले दुर्भाग्य भएको आरोप लगाउँदै नेता महरले अहिलेको अवस्थाले त्यसैलाई पुष्टि गरेको दाबी गरे ।