कम्तिमा ३ महिनासम्म सबैलाई मासिक १० हजार रुपैंया दिन माओवादीको माग

१४ जेष्ठ २०७७, बुधबार १८:३२

काठमाडौं , नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले कम्तिमा ३ महिनासम्म सबै नागरिकलाई कम्तिमा मासिक १० हजार रुपैंया उपलव्ध गराउन सरकारसँग माग गरेको छ । सरकारले आगामी आर्थिक वर्षको वजेट ल्याउने पूर्व सन्ध्यामा पार्टीले वर्तमान संकट समाधानका लागि सरकारलाई जिम्मेवार बन्न ११ बूँदे सुझाव दिएको छ । सरकारले आर्थिक वर्षको वजेट बिहीबार सार्वजनिक गर्दैछ ।
पार्टी महासचिव कर्णजीत बुढाथोकीले कोरोना भाइरसको कारण नेपालको आर्थिक व्यवस्था जर्जर बन्दै गएकाले त्यसलाई व्यवस्थापन गर्नु सरकारको चुनौती रहेको स्पष्ट पारेका छन् । अर्थमन्त्री युवराज खतिवडालाई सम्वोधन गर्दै उनले कोरोना भाइरसका कारण पीडित नागरिकलाई विभिन्न किसिमका राहत उपलव्ध गराउन र दैनिकी सहज बनाउन पनि सरकारसँग आग्रह गरेका छन् । उनले सरकारले कोरोना नियन्त्रण र रोकथाममा प्रभावकारी कदम चाल्न नसकेको आरोप लगाएका छन् । सरकार भ्रष्टाचारमा संलग्न रहेको, नागरिकको समस्यामा ध्यान नदिएकोलगायतका आरोप उनले लगाएका छन् । परम्परागत ढंगले आउने वजेटले वास्तविक रुपमा जनताका समस्या समाधान गर्न नसक्ने र केही दलाल र पुँजिपतिको स्वार्थमा नै वजेट आउने खतरा भएको पनि पार्टीले औंल्याएको छ ।
कोरोना भाइरसका कारण पुगेको क्षति कम गर्न कृषि उत्पादन र रोजगारी उपलव्ध गराउनका लागि स्थानीय तहमा वजेटको ७० प्रतिशत छुट्याउन, दीर्घकालीन र तत्कालीन समस्या समाधानका लागि योजना ल्याउन, सबैलाई निःशुल्क स्वास्थ्य सेवा दिन र निजी मेडिकल कलेजलाई राष्टियकरण गर्न, सुकुम्वासी, विपन्न, गरिव तथा मजदुर, महिला, अपांगता भएकालगायतलाई मध्यनजर गरी आपत्कालीन कोषको व्यवस्था गर्न माग गरिएको छ । त्यसैगरी महासचिव बुढाथोकीले अनलाइन शिक्षाको लागि शैक्षिक अनुदानको व्यवस्था गर्न, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र पत्रकारको स्वास्थ्य बीमा गर्न, मझौला तथा साना उद्योगलाई राहत दिन, सीमामा पर्खाल र काँडेतार लगाउन प्रशस्त वजेट विनियोजन गर्न, सार्वजनिक खर्च पुनरावलोकन समितिले दिएको सुझाव कार्यान्वयन गर्न पनि सरकारलाई सुझाव दिएको छ ।
पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र तत्कालीन नेकपा एमालेसँग मिलेपछि गोपाल किरातीले त्यही पार्टीलाई पुनर्जिवन दिएका छन् । पार्टीले देश र जनताका समस्याका बारेमा आवाज उठाउँदै आएको छ । पार्टीले एकतामा असन्तुष्ट भएकाका साथै अन्यलाई समेत समेटेको छ । पार्टीले नेकपाले देश र जनताको पक्षमा काम गर्न नसकेको र अब पनि केही नगर्ने निश्कर्ष समेत निकालेको छ ।