कमलरी हत्याको विरोधमा प्रदर्शन, अपराधबाट बच्न झुण्ड्याइ आत्महत्या गरेको देखाइएको दाबी

६ असार २०७५, बुधबार १०:१६

असार ६, काठमाडौं ।

बाँके, बर्दिया, दाङ, कञ्चनपुरसहित कैलाली जिल्लामा कमलरी हत्याको विरोधमा आज प्रदर्शन गरिएको छ ।

बर्दियाको बाँसगढी नगरपालिका–४ अस्नेरीकी ११ वर्षीया कमलरी अस्मिता थारुको आत्माहत्या नभई हत्या भएको भन्दै कमलरी राख्ने र घटनामा संलग्नलाई कडा कारवाहीको माग गर्दै प्रदर्शन गरिएको हो । जेठ २९ गते राति ८ बजे आत्महत्या गरेको भनिएपनि उनको हत्या भएको मुक्त कमलरी विकास मञ्चको दाबी छ ।

बर्दियाकै बढैयाताल गाउँपालिका–७ बस्ने दुर्गा भण्डारीको घरमा काम गर्दै आएकी अस्मितालाई मालिक परिवारले हत्या गरेको मञ्चकोे विज्ञप्तिमा उल्लेख छ । ‘पटक–पटक आफ्नो घर आउँदा मालिकले आफूलाई दिने यातना र गर्ने दुव्र्यवहारबारे आफन्तलाई बताउने गरेकी अस्मितालाई दुव्यर्वहार गरी हत्या गरिएको र अपराधबाट बच्न झुण्ड्याइ आत्महत्या गरेको देखाइएको घटनाक्रमले देखाएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

घटनाको उजुरी दर्ता गरिएपनि हालसम्म अभियुक्तलाई कुनै कारवाहीको प्रक्रियामा नल्याएको मञ्च कैलालीकी अध्यक्ष विष्णा चौधरीले जानकारी दिइन् । मञ्चले आज कैलाली, कञ्चनपुर, बाँके, बर्दिया र दाङमा प्रदर्शन गर्नुको साथै जिल्ला प्रशासन कार्यालयलाई ज्ञापनपत्र बुझाएको छ ।