कञ्चनपुर र मोरङमा सवारी दुर्घटना, २ जनाको मृत्यु

१८ फाल्गुन २०७४, शुक्रबार ०८:३८

फागुन १८, काठमाडौं ।

कञ्चनपुर र मोरङमा गएराति सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

भारतीय नम्बरको जिपको ठक्करबाट बिहीबार राति कञ्चनपुरको भीमदत्तनगरपालिका–६ का ४५ वर्षीय मोहन चन्दको मृत्यु भएको छ ।

गड्डाचौकीबाट भीमदत्तनगरतर्फ आइरहेको युके ०३७१०१ नम्बरको भारतीय जिपको ठक्करले पूर्व–पश्चिम राजमार्गमा हिँडिरहेका चन्दको घटनास्थलमै मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जिप चालकको खोजी भइरहेको जनाएको छ ।

मृतकका आफन्तले चालकलाई नियन्त्रणमा लिएर कारबाहीको माग गर्दै शव दुर्घटनास्थलबाट उठाउन दिएका छैनन् ।

यसैबीच, मोरङको धनपालथान गाँउपालिकास्थित रंगेली–विराटनगर सडकखण्डमा मोटरसाइकलको ठक्करबाट गएराति पैदलयात्रीको मृत्यु भएको छ ।

को २३ प ६१६७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा धनपालथान गाउँपालिका–६ का ४५ वर्षीय विहारी रायको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

रायलाई राति ११ः३० बजेतिर धनपालथान गाउँपालिका–६ स्थित दादरबैरिया चोकमा ठक्कर दिएको थियो ।

ठक्कर दिने मोटरसाइकलका चालक मोरङ, कटहरी गाउँपालिका–५ बस्ने सरोज उराउ समेत घाइते भएका छन् । उनको कोशी अञ्चल अस्पताल विराटनगरमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले जनाएको छ ।