ककनीको पर्यटन बिकासका लागि शुभकामना आदान प्रदान तथा साँस्कृतिक कार्यक्रम सम्पन्न

४ बैशाख २०७६, बुधबार ११:२६


राजु भट्ट,

नुवाकोट, नुवाकोटको पर्यटकीय क्षेत्र ककनीको पर्यटन प्रवद्र्धनका लागि लामो समयदेखि क्रियाशील संस्था ककनी पर्यटन प्रवद्र्धन समाजले शुभकामना आदान प्रदान तथा साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ।
ककनीका स्थानीय तथा विभिन्न उद्योग व्यवसायीको सहभागिता रहेको उक्त कार्यक्रममा नयाँ वर्षको शुभकामना आदानप्रदान गर्नुका साथै ककनीको पर्यटन प्रवद्र्धका लागि आफ्नो क्षेत्रबाट सबैले सक्दो सहयोग गर्नुपर्ने विषयमा विभिन्न नेता, समाजसेवी, उद्योग व्यवसायी लगायतले भनाइ राखेका थिए ।

प्रदेश तीनकी उपसभामुख राधिका तामाङको प्रमुख आतिथ्यता तथा सांसद बद्री मैनालीको विशेष आतिथ्यतामा उक्त कार्यक्रममा सम्पन्न भएको थियो । कार्यक्रम माझ बोल्दै प्रमुख अतिथि उपसभामुख तामाङले पर्यटन वर्ष २०२०मा ककनीमा पर्यटक भित्र्याउन देश तथा विदेशमा प्रचार पसार गर्नुका साथै ककनीलाई अन्तराष्ट्रिय पर्यटन हबका रुपमा स्थापित गराउनका लागि प्रदेश तीनलाई आफूले सदैव झकझकाउने बताइन् ।

कार्यक्रमका विशिष्ठ अतिथि सांसाद बद्री मैनालीले कार्यक्रममा बोल्दै निर्वाचनका समयमा ककनीलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पर्यटकीय नगरी बनाउने घोषणा गरेकाले त्यस कार्यमा आफूहरू लागि परेको बताए । ककनीमा पर्यटन व्यवसायलाई सडकबाटोले गर्दा असर पारिरहेकाले गर्दा त्यसलाई जतिसक्दो चाँडो बनाउन पहल गरेको र ककनीको पर्यटन प्रवद्र्धनमा आफूहरू सदैव तत्पर रहेको बताए।आयोजक संस्थाका महासचिव अम्बर लामाले ककनीको पर्यटन प्रवद्र्धनमा सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने धारणा राखेका थिए ।

ककनीमा व्यवसायिक बाख्रापालन गर्दै आएका उनले ककनी नगरकोट भन्दा पनि पहिलेदेखि पर्यटकीय क्षेत्रका रुपमा परिचित भएपनि त्यसको उचित प्रवद्र्धन तथा प्रचारप्रचारको कमीले गर्दा पछि परेको बताए ।

त्यसैगरी समाजकी उपाध्यक्ष सोममाया तामाङले ककनीमा भएका विभिन्न ऐतिहासिक संरचना जीर्ण भएकाले सबैले त्यसमा ध्यान दिनुपर्ने बताइन् । ककनी प्राकृतिक रुपमा पनि निकै नै सुन्दर भएकाले आगामी पर्यटन वर्ष २०२० मा ककनीमा धेरै भन्दा धेरै पर्यटक भित्र्याउने उद्देश्य समाजको रहेको बताइन् ।

विभिन्न सांस्कृतिक कार्यक्रमसहित सम्पन्न उक्त कार्यक्रममा कार्यक्रममा काठमाडौ, चाबाहिलमा स्थित रिभेरा इन्टरनेसनल एकेडेमीका कक्षा ५ मा अध्ययन गर्ने साना बालिकाहरुले बैदेशिक रोजगारमा गएर पीडा बोकेका नेपाली समाजहरुको तितो यथार्थमा आधारित गीति नाटक प्रस्तुत गरेका थिए । पल्पसा दवाडी, लाक्पा शेर्पा, बियान्सा गुरु, सलिना खड्का, सुमिना गेलाल, प्रयास दवाडी तथा प्रियान्सा गुरुङ्ग अभिनित उक्त गीति नाटकले दर्शक सबैको मन छुन सफल भएको सहभागीहरूको भनाइ छ । उत्त कार्यक्रम मिसेस ग्लोवल नेपाल २०१८ कि सेकेन्ड रनरअफ सिस्मा कार्कीले संचालन गरेकी थिईन ।