औषधिको गुणस्तर र सुरक्षामा ध्यान दिन स्वास्थ्य मन्त्री पोखरेल आग्रह

३० भाद्र २०७४, शुक्रबार १५:४१

भदौ ३०, काठमाडौ‌ । स्वास्थ्य मन्त्री गिरीराजमणि पोखरेलले औषधि मानिसको जिवनसंग जोडिएको विषय भएकोले त्यसको गुणस्तर र सुरक्षामा ध्यान दिनुपर्ने बताए।

ग्रामीण भेगका कतिपय उपभोक्ताहरुले मिति नाघेको औषधि पनि हेर्न नजान्ने भन्दै त्यसतर्फ पनि सम्बन्धित निकायको ध्यान जानुपर्नेमा जोड दिए। शुक्रबार औषधि व्यवस्था विभागको समिक्षा गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले औषधिको गुणस्तर र सुरक्षाका दृष्टिबाट सक्षम भएन भने उपभोक्तालाई हानी गर्ने भन्दै औषधिमा गुणस्तरीता कायम राख्नुपर्ने बताए। मन्त्री पोखरेलले औषधि व्यवस्था विभाग केन्द्रीयस्तरबाट देशभर प्रभावकारी रुपमा काम गर्न नसक्ने भन्दै संघीय संरचना अनुसार सातवटै प्रदेशमा विभागलाई विस्तार गरेर प्रभावकारी रुपबाट अघि बढाउनुपर्नेमा जोड दिए।

औषधि लगायतका क्षेत्रलाई विकास गर्न समग्र स्वास्थ्य प्रणालीलाई व्यवस्थित गर्नुपर्ने भन्दै मन्त्री पोखरेलले मिडियामा आउने कतिपय समाचारहरुले स्वास्थ्य क्षेत्र अझै पनि व्यवस्थित हुन नसकेको आभाष हुने बताए। पोखरेलले औषधि ऐनलाई अघि बढाउने जानकारी दिदै ऐनले नेपाली औषधि उत्पादकहरुलाई प्रोत्साहन दिनुपर्ने बताए। औषधि सम्बन्धि नीति स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने हुनुपर्ने भन्दै पोखरेलले मानिसको जिवनसंग सम्बन्धित भएकोले सुरक्षा र गुणस्तरमा ध्यान जानु आवस्यक रहेको बताए।  कार्यक्रममा मन्त्री पोखरेलले गुणस्तरमा अति बढि सम्वेदनशील बन्न विभागका पदाधिकारीलाई निर्देशन समेत दिए।