औद्योगिकीकरणको थालनी गर्नुपर्छ

१० मंसिर २०७५, सोमबार ०९:३८

भरतराज आचार्य
युवा उद्यमी
नेपालको इतिहास निर्माण भएदेखि नै देश औद्योगिकीकरणको चरणमा प्रवेश नै गरेको छैन । छिटपुट आफ्नै हिसाबले उद्योग स्थापना हुने, नयाँ आउने पुरानो बन्द हुने क्रम पनि चलिरहेकै छ । तर, व्यापक रूपमा उद्योग स्थापना हुने चरणमा हामी प्रवेश गरेका छैनौँ । यसका लागि सरकारले नीति र कानुनी आधार तय गर्दै पूर्वाधारसमेत निर्माण गरेर औद्योगिकीकरणमा प्रवेश गरेको घोषणा गर्नुपर्छ ।

यस्तो घोषणा उद्योग दिवसको अवसरमा गर्दा अझ सार्थकता हुन्छ । तर, औद्योगिकीकरणमा प्रवेशका लागि सबैभन्दा पहिला हाम्रा उत्पादनको लागत घटाउन तथा उत्पादनलाई प्रतिस्पर्धी बनाउन निश्चित समयसम्मका लागि सरकारले विशेष सहयोग गर्नुपर्छ ।पूर्वाधार निर्माण, भन्सार छुट, कर छुट, प्रविधि हस्तान्तरणमा सहयोग, आत्मबल विकास, वित्तीय पहुँच बढाएर हाम्रो उत्पादनलाई प्रतिस्पर्धी बनाउन सकिन्छ । सरकारले निश्चित समयसम्मका लागि अनुदान नै पनि दिन सक्नुपर्छ । जबसम्म लगानीको आधा मूल्यबराबरको प्रतिफलको अवस्था सिर्जना हुँदैन तबसम्म व्यापक रुपमा लगानीभित्र सक्दैन ।त्यसैले औद्योगिकीकरणका लागि लगानीको वातावरण बनाउनुपर्छ ।अहिले लोडसेडिङ अन्त्य, श्रम सम्बन्ध सुधार तथा राजनीतिक स्थायित्वलगायतले उद्योग क्षेत्रमा उत्साह पलाएको छ । यो उत्साहलाई गतिशील बनाएर अघि बढ्ने वातावरण बन्नुपर्छ । उद्योग क्षेत्रमा दक्ष जनशक्ति छैनन्, जनशक्ति उत्पादनमा सरकार निजी क्षेत्रले हातेमालो गर्नुपर्छ ।बैंकमा तरलता अभावको समस्या छ, ब्याजदर अस्थिर छ, यसबाट पनि उद्योगहरू प्रभावित भएका छन् । उत्पादन क्षेत्रमा यस्ता वित्तीय समस्या आउन दिनुहुँदैन । र, सबैभन्दा महत्वपूर्ण कुरा अद्यावधिक तथ्यांक हो । हाम्रो सरकारसँग उद्योगका बारेमा तथ्यांक छैन ।देशमा कस्ता औद्योगिक उत्पादनको खपत बढी हुन्छ त्यसमध्ये कति आयातीत छ रु कस्ता उद्योगको सम्भावना नेपालमा बढी छ रु उद्योगसँग सम्बन्धित यस्ता तथ्यांक उद्योग मन्त्रालयले तयार गर्नुपर्छ । अनि नयाँ उद्योग खोल्न चाहनेलाई पनि सहज हुन्छ । औद्योगिक प्रवर्द्धनका यस्ता काम गरे मात्रै उद्योग दिवसको सार्थकता हुन्छ । नयाँ पत्रिकावाट