ओसामा बिन लादेनका छोरा मारिएको अमेरिकाद्वारा पुष्टि

२९ भाद्र २०७६, आईतवार १२:२२

अमेरिका , अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अल कायदाका संस्थापक ओसामा बिन लादेनका छोरा हम्जा बिन लादेन अमेरिकी सेनाको कारबाहीमा मारिएको पुष्टि गरेका छन् । ह्वाइटहाउसले अफ्गानिस्तान र पाकिस्तान क्षेत्रमा गरेको प्रतिआतंकवाद कारबाहीमा हम्जा मारिएको जानकारी गराएको हो ।

गत महिना गुप्तचर स्रोतहरुलाई उल्लेख गर्दै अमेरिकी सञ्चारमाध्यमहरूले उनी हवाई हमलामा मारिएको दावी गरेका थिए । तर अमेरिकाले त्यसको औपचारिक पुष्टि गरेको थिएन ।

ह्वाइटहाउसको विज्ञप्तिमा कारबाही गरिएको समय भने खुलाइएको छैन । उनी अफगानिस्तान, पाकिस्तान र सिरियामा पनि बसेको हुन सक्ने अनुमान यसअघि पनि गरिएको थियो ।

अमेरिकाले उनलाई दुई वर्षअघि विश्वका लागि खतरनाक आतंकवादीको सूचीमा राखेको थियो । साथै उनको बारेमा सूचना दिनेलाई दश लाख अमेरिकी डलरसम्म पुरस्कार दिने घोषणा पनि वासिङ्टनले गरेको थियो । हम्जा आफ्ना बुवाको स्थान लिनेगरी अल कायदाको नेताका रूपमा उदाइरहेका थिए ।