ओली समूहले २३ गते राजधानीमा जनसभा गर्ने

१२ माघ २०७७, सोमबार १४:५३

काठमाडौं । नेकपाको ओली समूहले माघ २३ गते राजधानीमा जनसभा गर्ने भएको छ । आज पार्टी कार्यालय धुम्बाराहीमा पत्रकार सम्मेलन गरी उक्त जनसभाको तयारीबारे जानकारी गराएको हो । वाग्मती प्रदेश कमिटीले जनसभामा लाखौं जनताको उपस्थिति गराउन मातहत कमिटीलाई निर्देशन दिन पनि दिएको छ ।

प्रदेश र उपत्यका विशेष प्रदेशका १७ वटा जिल्ला कमिटीहरुले माघ १४ भित्र ५०१ सदस्य रहेको जनसभा कमिटी गठन गरी सक्नुपर्ने बताइएको छ । त्यस्तै उक्त कमिटीले आ-आफनो जिल्लामा जन परिचालन गरी सभामा व्यापक जनसहभागिताको गराउने, माघ १७ भित्र सबै पालिकामा ३०१ र वडा स्तरमा १०१ सदस्य रहेको जनासभा परिचालन कमिटी गठन गरी उक्त कमिटीले योजना बनाई घरघरमा जनसभाको प्रचार गरी जनतालाई सहभागिता गराउने पत्रकार सम्मेलनमा जानकारी दिइयो । जनसभाअघि मोटरसाइकल र्‍याली, सांस्कृतिक झाँकीलगायत प्रदर्शन गर्ने बताइएको छ । कार्यक्रमलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् ।