ओखलढुंगामा भालुको आक्रमणबाट शिक्षिका गम्भीर घाइते

१२ मंसिर २०७६, बिहीबार १५:३६

ओखलढुंगामा भालुको आक्रमणबाट एक शिक्षिका गम्भीर घाइते भएकी छिन्। भालुको आक्रमणबाट चिशंखुगढी गाउँपालिका–७ की ३७ वर्षीय मिछोकी शेर्पा गम्भीर घाइते भएकी हुन्।

उनी कालिका आधाभुत विद्यालय सोलाघरकी शिक्षिका हुन्। आफन्त फुरग्याल्जे शेर्पाका अनुसार बुधबार विहान उनको घर सानिटारबाट विद्यालय जाँदै गर्दाबीच बाटोमा पर्ने जङ्गलमा भालुले शेर्पालाई आक्रमण गरेको हो। भालुको टोकाईबाट शेर्पाको टाउको र छातीमा गहिरो चोट लागेको छ।
उनलाई माम्खा स्वास्थ्य चौकीमा सामान्य उपाचारपछि थप उपचारका लागि ओखलढुंगा सामुदायीक अस्पतालमा ल्याइएको छ। अस्पतालको आकस्मिक कक्षमा राखेर उनको उपचार भइरहेको छ।