एसीसी यु–१९ एसिया कप क्रिकेटमा नेपालले शनिबार बंगलादेशसँग प्रतिस्पर्धा गर्ने

२४ कार्तिक २०७४, शुक्रबार ०८:३७

कात्तिक २४, काठमाडौं । एसीसी यु–१९ एसिया कप क्रिकेटमा नेपालले शनिबार बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । पहिलो खेलमा टेष्ट नेशन राष्ट्र बंगलादेशलाई पराजित गर्दै शुखद सुरुआत गर्ने नेपालको लक्ष्य रहेको छ ।

शुक्रबारदेखि सुरु भएको एसिया कपमा मलेसियाको राजधानी क्वालालम्पुरस्थित किनरारा ओभलमा शनिबार बिहान नेपालले बलियो प्रतिद्धन्दी बंगलादेशको सामना गर्न लागेको हो । प्रि–म्याच कन्फ्रेन्समा नेपाली टिमका कप्तान दिपेन्द्रसिंह ऐरीले प्रतियोगिताको लागि तयारी निकै राम्रो भएको बताएका छन् । उनले भने “तयारी राम्रो छ । यसअघि बंगलादेश विरुद्ध भएको मैत्रीपूर्ण सिरिजमा निकै राम्रो प्रतिस्पर्धा भएको थियो । हामी पहिलो खेलमा पनि जित हात पार्दै राम्रो नतिजा ल्याउने छौं ।”

त्यस्तै, बंगलादेशका कप्तान मोहम्मद सैफ हसनले राम्रो खेल्दै नेपालसँगको खेलमा जित हात पार्ने बताए । उनले भने “हामीले राम्रो तयारी गरेका छौं । मैत्रीपूर्ण खेलमा नेपालसँग निकै राम्रो भयो र नेपालले एक खेलमा जित हात पार्न सफल भयो । शनिबार हुने खेलमा हामी जित हात पार्दै राम्रो सुरुवात गर्न चाहन्छौं ।”

प्रतियोगिताको लागि भनेर नेपालले करिब एक महिनादेखि अभ्यास थालेको थियो । सिनियर राष्ट्रिय टिमका नियमित खेलाडी दिपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको नेपालको सेमिफाइनल पुग्ने लक्ष्य रहेको छ ।

नेपाल रहेको समूह बीमा भारत, बंगलादेश र आयोजक मलेसिया रहेको छ । नेपालले बंगलादेशलाई पराजित गर्न सके सेमिफाइनल पुग्ने सम्भावना बलियो हुनेछ । तर बंगलादेशसँग पराजित भएमा बाँकी दुबै खेल नेपालले जित्नै पर्ने हुन्छ । नेपालले आइतबार भारतसँग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै, समूह चरणको अन्तिम खेलमा नेपालले आयोजक मलेसियासँग मंगलबार खेल्नेछ ।