एलपी ग्यासमा पनि छिट्टै सहुलियतः मन्त्री यादव

२५ भाद्र २०७६, बुधबार १४:४४

काठमाडौं , सरकारले एलपी ग्यास पनि छिट्टै सहुलियत दरमा उपलब्ध गराउने तयारी गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले निम्न आय भएका उपभोक्ताहरूको हितलाई ध्यानमा राखेर सरकारले सो ग्यास छिट्टै सहुलियत दरमा पनि उपलब्ध गराउने तयारी भईरहेको जानकारी गराउनु भएको हो ।

नेपाल एलपी ग्यास उद्योग संघको २४ औं वार्षिक साधारणसभाको बुधबार काठमाडौंमा उद्घाटन गर्दै उहाँले आर्थिक रुपले सम्पन्न नागरिकहरुलाई एलपी ग्यासको मूल्य बढाएर भए पनि निम्न आय भएका नागरिकलाई सहुलियत दरमा सो ग्यास उपलब्ध गराउन सम्बन्धित निकायसँग छलफल भइरहेको पनि स्पष्ट पार्नु भयो ।

मन्त्री यादवले जनताको पक्षमा काम गर्दा कानुनी जटिलता हुने गरेको उल्लेख गर्दै ती समस्या समाधान गरेर जान पनि सरकार तयार रहेको बताउनु भयो । मन्त्री यादवले व्यवसायीहरुसँग मिलेर सरकारले एलपी ग्यासको आपूर्ति व्यवस्थालाई सहज ढंगले अघि बढाईरहेको दावी पनि गर्नु भयो ।