एमाले–माओवादी एकता संयोजन समितिको बैठक आज बस्दै

११ पुष २०७४, मंगलवार ०२:५६

पुस ११ काठमाडौं। वाम गठबन्धनमा आबद्ध नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकीकरणका लागि गठन भएको पार्टी एकता संयोजन समितिको बैठक मङ्गलबार बस्दैछ । बैठकमा पार्टी एकताका खाकाबारे विस्तृत रूपमा छलफल हुने बताइएको छ ।

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनपछि पहिलोपटक बस्न लागेको संयोजन समितिको बैठकको समय र ठाउँ भने तय भइसकेको छैन । एमाले सचिव प्रदीप ज्ञवालीका अनुसार मङ्गलबार समितिको बैठक बस्ने मोटामोटी तयारी भएको छ तर ठाउँ र समय तय भइसकेको छैन ।   माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को मङ्गलबार बिहान चितवनमा एक कार्यक्रम रहेको र त्यसपछि उनले काठमाडौँ फर्केपछि बैठक बस्ने तयारी भएकाले समय र स्थान तय हुन नसकेको उनले जानकारी दिए। यद्यपि बैठक बस्ने तयारी दुवै दलबाट भएको सचिव ज्ञवालीले जानकारी दिए।

 

त्यस्तै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका प्रेस सहयोगी मनहरि तिमिल्सिनाका अनुसार मङ्गलबारको बैठक तय भइसकेको छ । अध्यक्ष प्रचण्ड काठमाडौँ फर्किएपछि समितिको बैठकमा भाग लिने बताउँदै अपराह्नसम्म बैठक बस्ने बताए ।   दुई कम्युनिस्ट पार्टीको एकताबारे विभिन्न टिकाटिप्पणी भइरहँदा संयोजन समितिको बैठकको तयारी गरिएको छ । बैठकले सरकारको गठन र नेतृत्व, दुवै पार्टीका शीर्ष नेताको व्यवस्थापन र जिम्मेवारीबारे विस्तृत खाका तयार गर्ने बताइएको छ ।   आन्तरिक रूपमा दुवै दलका नेताहरूले त्यसबारे गृहकार्य गरिरहेको भए पनि प्रमुख दुई दलका दुवै अध्यक्षको सहमतिको खाँचो रहेको एक नेताले बताए । पार्टी एकताका लागि दुवै दलले गत असोज १७ गते लिखित सहमति गरेका थिए ।