एन्फा अध्यक्षमा कुँवर र शेर्पाको भिडन्त वैशाख २२ गते हुने

१० बैशाख २०७५, सोमबार १०:१६

वैशाख १०, काठमाडौं ।

अखिल नेपाल फुटबल संघ (एन्फा)को चुनाव वैशाख २२ गते हुने भएको छ । निर्वाचन समितिले आइतबार चुनावको मिति तोकेको हो ।


यसअघि १४ चैतका लागि तोकिएको चुनाव उच्च अदालतको पाटनको आदेशका कारण रोकिएको थियो ।

 

भक्तपुर र मकवानपुर जिल्ला फुटबल संघले दायर गरेको रिटमा अदालतले चुनाव रोक्न अन्तरिम आदेश दिएको थियो ।

 

दुबै जिल्लाको विवाद मिलेपछि एशियन फुटबल महासंघले चुनाव मिति तोक्न एन्फालाई निर्देशन दिएको थियो ।

 

एन्फा अध्यक्षमा वरिष्ठ उपाध्यक्ष मणी कुँवर र पूर्व उपाध्यक्ष कर्माछिरिङ शेर्पा उम्मेदवार छन् ।