एनसेल कार्यालय र गुरुङको घरमा बम बिष्फोट गराउने चारजना पक्राउ

७ चैत्र २०७५, बिहीबार १३:१६

काठमाडौं , नख्खुस्थित एनसेल कार्यालय र वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको घरमा बम बिस्फोट गराउने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले बम बिस्फोट गराउने थप चार जनालाई पक्राउ गरेको बताएको छ । महानगरीय अपराध महाशाखाको टोलीले मंगलबार राति उनीहरूलाई पक्राउ गरेको महाशाखाका एसपी केदार ढकालले जानकारी दिए । पक्राउ पर्नेहरुमा बिशाल तामाङ, शिव धिमाल, देकेन्द्र राई र भुमबहादुर बिक रहेको एसपी केदारले बताए । ललितपुरको नख्खुस्थित टावरमा भएको विष्फोटमा परी सिंहप्रसाद गुरुङको मृत्यु भएको छ भने प्रतीक्षा खड्का र आयुषा मानन्धर घाइते छन् । काठमाडौं उपत्यकाबाट पक्राउ परेका ६ र बाहिरी जिल्लाबाट पक्राउ परेका १० गरी १६ जनामाथि अनुसन्धान चलिरहेको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिए ।