एनआरएन कप-२०१८ को तयारी पूरा, प्रथम पुरस्कार करिब २ लाख रुपैयाँ

३१ जेष्ठ २०७५, बिहीबार १०:१२

जेठ ३१, काठमाडौं ।

यूएईको नेपाली समुदायमा हालसम्मकै सर्वाधिक राशीको फुटबल प्रतियोगिता एनआरएन कप-२०१८ को तयारी पूरा भएको छ ।

आयोजक एनआरएनए यूएईले खेल तालिका सार्वजनिक गर्दै खेल सम्बन्धी सबै तयारी पूरा भएको जनाएको हो ।

आयोजक एनआरएनए यूएईका अधिक पधादिकारी र एनआरएनए आईसीसी सदस्यहरु ठाकुरप्रसाद ढुंगाना र मनोज गोर्खाली, नेपाल पत्रकार महासंघ यूएई शाखाका अध्यक्ष भुपराज बस्याल र प्रतियोगितामा सहभागी अधिक टिम क्याप्टेनहरुको उपस्थितिमा गोलाप्रथाबाट खेलतालिका सार्वजनिक गरिएको हो ।

प्रथम पुरस्कार ६ हजार ६ सय ६६ दिराम (करिब २ लाख रुपैयाँ) राखिएको यो प्रतियोगिता आगामी इदको अवसरमा १५ जून शुक्रबार दुबईमा आयोजना हुदै छ ।

प्रतियोगितामा आयोजक एनआरएन यूएई,र नवलपरासी राइनो फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । यसैगरी सुनुवार सेवा समाज र कास्टमन्डप फुटबल क्लब, मेचीमहाकाली फुटबल क्लब र रुपन्देही ११ का बीच पहिलो चरणमा प्रतिस्पर्धात्मक खेल हुनेछ ।

यसैगरी राइजिङ स्टार फुटबल क्लब र नेपाली समुदाय युएई, गोर्खा समाजको हिमालयन फुटबल क्लब र ओल्ड मन्क फुटबल क्लब, नेपाली जनसम्पर्क समिति फुटबल क्लब र माउन्ट एभरेस्ट फुटबल क्लबबीच स्पर्धा हुने तालिका सार्वजनिक भएको छ ।

नेपाली स्पोर्ट्स क्लब राक र हिपेट फुटबल क्लब, युनाइटेड स्टार फुटबल क्लब र एनआरएन अबुधाबीको फुटबल समुहबीच प्रतिस्पर्धा हुने तालिका गोलाप्रथाबाट तय भएको हो ।

“नेपालीका लागि नेपाली’ भन्ने एनआरएनको नारा अनुरुप यूएईका युवा खेलाडीहरुलाई प्रोत्साहन गर्ने हेतुले आगामी इदको पहिलो रात ठीक ८ बजे आयोजना हुन लागेको हो ।

एनआरएन यूएईको उद्दार कोषको सहयोगार्थ आयोजना हुन लागेको यो प्रतियोगितामा २१ समुहले खेलका लागि नाम दर्ता गराए पनि १६ समुहले मात्र प्रतियोगितामा सहभागी हुने आयोजक समुहका मदन अधिकारीले बताएका छन् ।

नेपालमा विभिन्न चर्चित फुटबल क्लब खेल्ने खेलाडीहरु जो अहिले श्रमको सिलसिला युएईमा कार्यरत छन्, उनी हरुको पनि सहभागिता हुने हुनाले खेल अति रोमाञ्चक हुने आयोजकले दाबी गरेका छन् ।

दुबईको पेनाल्टी फुटबल मैदान सलाउदीन स्ट्रीटमा आयोजना हुने प्रतियोगितामा प्रथम पुरस्कार अहिलेसम्मकै सर्वाधिक राशीका साथमा कप, मेडल र प्रमाणपत्र हुनेछ ।

त्यसैगरी दोश्रो पुरस्कार ३ हजार ३ सय ३ सय ३३ दिराम ( करिब १ लाख रुपैयाँ) कप, मेडल र प्रमाणपत्र हुनेछ । साथमा उत्कृस्ट टुर्नामेन्ट खेलाडीलाई कप प्रमाणपत्र, उत्कृस्ट गोलकिपरलाई कप र प्रमाणपत्र र प्रत्यक खेलको उत्कृस्ट खेलाडीलाई प्रमाणपत्र प्रदान गर्ने आयोजकले बताएका छन् ।

हरेक टिममा ११ जना खेलाडीका साथमा ५ अतिरिक्त खेलाडी, १ जना ब्यावस्थापक, १ जना टिम कोच रहने उक्त स्पर्धा फिफाको नियम अनुसार खेलाइने आयोजकले बताएका छन् । कुनै विवाद उत्पन्न भए रेफ्रीको निर्णय नै अन्तिम हुने बादबिबाद गर्न नपाइने नियम छ ।

बरदुबईस्थित हिमालयन एयरको अफिसमा आयोजित कार्यक्रममा एनआरएन यूएईले सामाजिक गतिविधिका साथमा खेलकुद र खेलाडीहरुको विकासका लागि उत्तिकै प्राथमिकता दिएर सहयोग गर्ने एनआरएन युएईका अध्यक्ष रमेश श्रेष्ठले बताए ।