एउटा पुल भत्किँदा १२ महिनाको संकटकाल घोषणा

३१ श्रावण २०७५, बिहीबार १४:३४

साउन ३१, काठमाडौं ।

इटलीको जेनोआमा एउटा पुल भत्किँदा ३९ जनाको मृत्यु भएपछि प्रधानमन्त्री जोसेप्पे कोन्टेले बुधवार १२ महिनाको संकटकाल घोषणा गरेका छन् ।

त्यति मात्र नभई प्रधानमन्त्री कोन्टेले अनुसन्धान तथा उद्धार कार्यका लागि ५० लाख युरो छुट्ट्याइएको घोषणा समेत गरेका छन् ।

कोन्टेले मंगलवार भत्केको मोरान्दी पुलको रेखदेखका लागि जिम्मेवार निजी कम्पनी अटोस्ट्रेडलाई उपलब्ध छुट पनि फिर्ता लिने बताए । यस्ता दुर्घटना आधुनिक समाजमा अस्वीकार्य भएको उनले बताए ।

पुलमा थिचिएका मानिसलाई उद्धार गरिएको छ ।

इटलीका गृहमन्त्री म्यात्तियो साल्भिनीले दुर्घटनामा किशोरहरू पनि परेको बताए ।

मंगलवार जेनोआमा भारी बर्खा भएपछि मोरान्दी पुलको ठूलो भाग भत्केको थियो जसकारण ३५ कार र कैयौं ट्रक ४५ मिटर अर्थात् १५० फीट तल रेलका लीगमा खसेका थिए ।