उपचार खर्च तिर्न नसक्दा अस्पतालमै बन्धक

३ फाल्गुन २०७५, शुक्रबार ११:०२

दार्चुला । तीन महिनाअघि मालिकार्जुन गाउँपालिकामा भएको मिनिबस दुर्घटनामा गम्भीर घाइते भएका धीरेन्द्र धामी अझै पनि अस्पताल बेडमै रहेका छन् । तीन महिना बित्दासमेत उनी अझै अस्पतालको बेडबाट उठ्न सकेका छैनन् ।मालिकार्जुन गाउँपालिकाको तेर्छालेकमा ७ मंसिरमा भएको मिनिबस दुर्घटनामा दुई जनाको ज्यान गएको थियो भने आधा दर्जन घाइते भएका थिए । घाइतेहरूको उपचार जिल्लामा सम्भव नभएपछि प्रदेश सरकारले हेलिकोप्टरमार्फत् गम्भीर घाइतेलाई नेपालगञ्ज मेडिकल कलेज पु¥याएको थियो । अन्य घाइतेहरू अस्पतालबाट डिस्चार्ज भएर बाहिर आएका छन् ।तर, सोही मिनिबस दुर्घटनामा परेका मालिकार्जुन गाउँपालिका–८ शंकरपुर पस्तीका धीरेन्द्र्र धामी भने अझै काठमाडौंका एक हस्पिटलको बेडबाट उठ्न सकेका छैनन् । नेपालगञ्जस्थित मेडिकल कलेजमा उपचार हुन नसकेपछि धीरेन्द्र काठमाडौंको ग्रान्डी हस्पिटलमा उपचाररत छन् । दुर्घटना भएको तीन महिना बित्नै लाग्दासमेत उनी भने अस्पतालको बेडमै घाउको पीडासँगै दिन कटाइरहेका छन् । धीरेन्द्र धामीका दाई ईन्द्र धामीका अनुसार अहिलेसम्म झन्डै ११ लाख उपचार खर्च पुगिसकेको र सो तिर्न नसकेको बताउँछन् ।धीरेन्द्र अस्पतालको बेडबाट उठ्न नसक्दा उनको शरीरको तल्लो भाग कुहिन थालेको छ । अस्पतालको बेडबाट उठ्न सक्ने अवस्था नहुँदा बाफले उनको पछाडिको भाग कुहिन थालेको हो । दुर्घटनामा उनको शरीरको तल्लो भाग चल्न नसक्ने भएको थियो । त्यसमाथि अहिले ११ लाख अस्पतालको ऋणले झन् थला परेका छन् । उनको उचारमा दैनिक ३७ सयको औषधि खर्च हुने गरेको उनका दाई इन्द्रसिंह धामीले बताए ।उनीसँगै ग्रान्डी हस्पिटलमा उपचाररत लेकम गाउँपालिकाका दौलतसिंह कँुवर र लक्ष्मी कुँवर भने यसअघि नै डिस्चार्ज भएका छन् । तर, धीरेन्द्रको उपचार सम्भव नहुने भएपछि हालसम्म उपचारमा भएको खर्च तिर्न नसक्दा उनी अस्पतालमा बन्धक जस्तै बनेका छन् । धीरेन्द्रको अस्पतालमा उपचार सम्भव नहुने र डिस्चार्ज गराउन पनि रकम अभाव भएकाले अन्योल भएको उनका दाइले बताएका छन् ।‘अस्पतालले उपचार सम्भव नहुने बताएको छ, डिस्चार्ज गराउन अस्पातालको खर्च तिर्न नसकेर बन्धक भएको छौँ’, उनले भने । खर्च तिर्न नसकेपछि अस्पतालले पनि उपचार गर्न छोडेको छ । ११ लाखसम्मको औषधि खर्च तिर्न नसकेका धामीको थप उपचार र ड्रेसिङसमेत नगरिदिएको घाइतेका दाई इन्द्र धामीले गुनासो गरेका छन् । ‘अस्पतालले पनि उपचार गर्न छाडिहाल्यो, शरिरको तल्लो भाग कुहिन थाल्यो’, उनले भने ।

स्थानीय तहको सहयोग अझै पुगेन
गत ७ मंसिरमा मालिकार्जुन गाउँपालिकाको तेर्छालेकमा भएको मिनिबस दुर्घटनापश्चात् जिल्लाका विभिन्न पाँच स्थानीय तहले आर्थिक सहयोगको घोषणा गरेका थिए । तर, दुर्घटना भएको तीन महिना बित्नै लाग्दासमेत सम्बन्धित पक्ष अर्थात् पीडितहरूसम्म उक्त सहयोग भने पुग्न नसकेको छैन ।उक्त मिनिबस दुर्घटनामा परी घाइतेहरूलाई जिल्लाका विभिन्न पाँच स्थानीय तहले एक÷एक लाख आर्थिक सहयोग गर्ने घोषणा गरेका थिए । तर, घोषणा गरेको महिनौ बितिसक्दासमेत सम्बतिन्ध पक्षले उक्त रकम पाउन सकेका छैनन् । महाकाली नगरपालिका, शैल्यशिखर नगरपालिका, दुहूँ गाउँपालिका, व्याँस गाउँपालिका र मालिकार्जुन गाउँपालिकाले घाइतेहरूलाई आर्थिक सहयोग स्वरुप एक÷एक लाख दिने घोषणा गरेको मालिकार्जुन गाउँपालिका अध्यक्ष नरेन्द्र धामीले बताए ।हालसम्म मालिकार्जुन गाउँपालिका र शैल्यशिखर नगरपालिकाले भने एक(एक लाख रकम जिल्ला प्रशासन कार्यालयमा जम्मा गरिसकेको अध्यक्ष धामीको भनाइ छ । घाइते धीरेन्द्रको जमानतसमेत आफू रहेको अध्यक्ष धामीले बताए । घाइतेको उपचारका लागि ग्रान्डी अस्पतालसँग निरन्तर सम्पर्क भइरहेको बताए । महाकाली नगरपालिका, दुहूँ गाउँपालिका र व्याँस गाउँपालिकाबाट उक्त रकम आउन बाँकी रहेकाले आर्थिक सहयोगको रकम पीडितलाई हस्तान्तरण गर्न नसकिएको हो ।यस्तै विवेकशील साझा पार्टीका जिल्ला संयोजक चक्र बलमे १३ माघमा ग्रान्डी अस्पतालमै गई घाइतेका अवस्थाबारे जानकारी लिएका छन् । जिल्ला संयोजक चक्र बमका अनुसार घाइतेको पछाडि कुहिन थालेकोे छ ।

यो समाचार आजको सौर्य दैनिकमा सन्तोष कोट्टारीले लेख्नु भएको छ ।