उपचारको क्रममा महिलाको मृत्युपश्चात् मेडिकल सञ्चालक र चिकित्सकलाई नियन्त्रणमा

२० बैशाख २०७५, बिहीबार ०६:०७

वैशाख २०, काठमाडौं ।

तुलसीपुरमा रहेको ज्योति मेडिकलमा उपचारगर्नका लागि सामान्य अवस्थामा आएकी महिलाको बुधबार उपचारका क्रममा मृत्यु भएपश्चात् इलाका प्रहरी कार्यालय, तुलसीपुरले मेडिकल सञ्चालक र चिकित्सकलाई नियन्त्रणमा लिएको बताएको छ ।

तुलसीपुर उपमहानगरपालिका–७ निवासी ४० वर्षीया प्रेमा कुमालको मृत्यु भएपश्चात् पीडितका आफन्तले घटनाको छानबिन गर्न माग गरेपछि प्रहरीले मेडिकल सञ्चालक विनोद धौलाकोटी र उनको उपचारमा संलग्न डाक्टर प्रकाश नेपालीलाई नियन्त्रणमा लिएको बताइएको छ ।

मेडिकलमा बुधबार दिउँसो उपचारका लागि हिँडेर आएकी कुमालले भनेको लक्षणका आधारमा डा. प्रकाश नेपालीले विरामीलाई ट्राइकेन एमपिएस झोल औषधि र पेन्टाप्राजोल सुई बताए ।

सो औषधि चलाएलगत्तै कुमालको अवस्था गम्भीर भएपछि सो मेडिकलले उनलाई राप्ती अञ्चल अस्पताल तुलसीपुरमा पु¥याएको जनाएको छ । त्यहाँ पु¥याएलगत्तै अस्पतालले उनलाई मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय, तुलसीपुरका प्रमुख प्रकाश सापकोटाले जानकारी दिएका हुन् ।

घटनाको छानबिन र दोषीलाई कारबाही नगर्दासम्म पीडित पक्षले शव नबुझ्ने बताइएको छ ।