उद्यम गर्ने युवाहरुलाई अनुदान र सहुलियत ऋणः मन्त्री ढुंगेल

१४ मंसिर २०७७, आईतवार ११:४८

चितवन , वाग्मती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेलले समाजवादसम्म पुग्न राजनीतिसँगै उद्यम रोजगारी पनि गर्नुपर्ने बताउनुभएको छ ।

मदन भण्डारी फाउण्डेशन कालिका नगर कमिटीको विस्तारित बैठकलाई सम्बोधन गर्दै मन्त्री ढुङ्गेलले राजनीतिसँगै उद्यममा नजाने हो भने समाजवादको बाटोमा पुग्न नसकिने बताउनुभयो ।

युवा राजनीतिसँगै व्यवसायमा पनि अग्रसर हुनुपर्ने बताउँदै मन्त्री ढुङ्गेलले भन्नुभयो, “एउटा हातमा राजनीतिक झण्डा र अर्को हातमा उद्यम रोजगारीको झण्डा बोकेर अगाडि बढ्नुपर्छ ।”

उद्यम गर्ने युवाहरुका लागि प्रदेश सरकारले अनुदान र सहुलियत ऋणको व्यवस्था गरेको बताउँदै मन्त्री ढुंगेलले भन्नुभयो “काम सानो ठूलो नभनी उत्पादनमा जोडिनुहोस् ।

प्रदेश सरकार सहयोग गर्न तयार छ ।” सो अवसरमा १०१ सदस्यीय मदन भण्डारी फाउण्डेन कालिका नगर कमिटी र १०१ सदस्यीय मदन भण्डारी स्पोर्ट्स एकेडेमी नगर कमिटी घोषणा गरिएको थियो ।