उत्तर कोरियाले शुरु गर्यो रकेट परीक्षण स्थल नष्ट गर्न

८ श्रावण २०७५, मंगलवार १६:५७

साउन ८, काठमाडौं । एजेन्सी

उत्तर कोरियाले आफ्नो महत्त्वपूर्ण रकेट परीक्षणस्थल नष्ट गर्ने काम थालेको छ ।

उत्तर कोरियाले उत्तर–पश्चिम क्षेत्रमा अवस्थित सोहोमा रहेको रकेट परीक्षण स्थल नष्ट गर्न शुरु गरेको हो ।

अमेरिकाको ‘३८ उत्तर’ नाम दिइएको निरीक्षण समूहले प्रकाशमा ल्याएको भू–उपग्रह तस्वीरको हवाला दिँदै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले उत्तर कोरियाले निःशस्त्रीकरणको थालनी गरेको जनाएका छन् ।

यसअघि उत्तर कोरियाले सोहाइलाई स्याटेलाइट परीक्षण स्थल भएको बताएको थियो । तर अमेरिकाले उसको भनाइ पत्याएको थिएन । त्यहाँबाट ब्लास्टिक मिसाइल परीक्षण हुने उसको आशंका थियो ।

उत्तरकोरियाली नेता किम जोङ ऊन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच गत महिना सिंगापुरमा भेटवार्ता भएको थियो ।

सोक्रममा उनीहरुबीच कोरियाली प्रायद्वीपलाई पूर्ण रुपमा निःशस्त्रीकरण पार्ने सहमतिमा हस्ताक्षर भएको थियो ।

यद्यपि, निःशस्त्रीकरण कहाँबाट र कसरी शुरु गर्ने भन्नेमा भने मतैक्यता देखिएको थिएन । दुई देशबीच केहीअघि विवाद समेत देखिएको थियो । उत्तरकोरियाले अमेरिकाले परमाणु निःशस्त्रीकरणका लागि अनावश्यक दबाव दिएको भन्दै असन्तुष्टि जनाएको थियो ।

तर केही दिनअघि अमेरिकी राष्ट्रपति ट्रम्पले कोरियासँग सुधार हुँदै गएको सम्बन्धले आफू खुसी भएको बताएका थिए ।

उनले एक ट्वीट गर्दै अमेरिकाले ९ महिनादेखि कुनै पनि परमाणु परीक्षण नगरेकोमा खुसी व्यक्त गरेका थिए । उत्तर कोरियाको यो कदमबाट जापानसँगै सिंगो एसिया नै खुसी भएको भन्दै उनले आफू उत्तर कोरियासँग रिसाएको भनेर गलत प्रचारबाजी गरिएको सञ्चारमाध्यमप्रति आक्रोस पोखेका थिए ।

उत्तर कोरियाले ६ न्यूक्लियर परीक्षण गरेको छ, जसमध्ये पछिल्लो परीक्षण गत वर्षको सेम्टेम्बरमा गरेको थियो ।