उत्तर कोरियाले नयाँ ब्यालिस्टिक क्षेप्यास्त्रहरू बनाउन थालेको दाबी

१५ श्रावण २०७५, मंगलवार १६:३७

साउन १५, काठमाडौं ।

उत्तर कोरियाले अमेरिकाको ट्रम्प प्रशासनसँग सम्बन्ध बढाएपनि नयाँ ब्यालिस्टिक क्षेप्यास्त्रहरू बनाउन थालेको मिडिया रिपोर्टहरूले जनाएका छन् । द वाशिङटन पोस्टलाई नाम नबताउने केही अमेरिकी अधिकारीहरूले बताएअनुसार, जासूसी भूउपग्रहहरूले ब्यालिस्टिक क्षेप्यास्त्र उत्पादन गर्ने एक स्थलमा गतिविधिहरू कायम रहेको पत्ता लगाएका छन् ।

रोयटर्स समाचार संस्थाले एकजना अधिकारीलाई उद्धृत गर्दै क्षेप्यास्त्र निर्माण कार्य कुन हदसम्म अघि बढेको प्रस्ट नभएको जनायो ।

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ–उनलाई जुन महिनामा भेटेका थिए ।

उनीहरूबीचको पहिलो शिखरवार्तापछि दुवैले आणविक निःशस्त्रीकरणमा काम गर्ने प्रतिबद्धता जनाएका थिए । ट्रम्पले पछि उत्तर कोरिया ‘आणविक खतरा नरहेको’ बताएका थिए ।

तर किमबाट आणविक र क्षेप्यास्त्र कार्यक्रम अन्त्य गर्नका लागि प्रतिबद्धता लिन नसकेको भन्दै ट्रम्पको आलोचना भएको थियो ।

सोमवार वाशिङटन पोस्टले अधिकारीहरूलाई उद्धृत गर्दै उत्तर कोरिया प्योङयाङनजिकको सानुमदोङमा तरल इन्धन प्रयोग हुने अन्तर्महादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र बनाइरहेको देखिने लेख्यो ।

उक्त कारखानाले ह्वासोङ–१५ उत्पादन गरेको बताइन्छ । त्यो अमेरिकासम्म पुग्न सक्ने पहिलो उत्तर कोरियाली क्षेप्यास्त्र हो ।

तर एक अमेरिकी अधिकारीले रोयटर्सलाई बताएअनुसार, तरल इन्धनयुक्त अन्तर्महादेशीय क्षेप्यास्त्रले ‘ठोस इन्धनयुक्त क्षेप्यास्त्रले जति खतरा निम्त्याउँदैन किनकि त्यसमा इन्धन भर्न लामो समय लाग्छ’ ।

भूउपग्रह तस्वीरले कारखाना क्षेत्रमा गाडीहरू ओहोरदोहोर गरिरहेको देखाएको भएपनि क्षेप्यास्त्र निर्माणकै स्तरमा ओहोरदोहोर नभएको रोयटर्स लेख्छ ।