उत्तर कोरियाका गोप्य मिसाइल अड्डा नयाँ कुरा होइन ट्रम्प

२९ कार्तिक २०७५, बिहीबार ०९:२९

एजेन्सी ।

स्याटलाइटबाट लिइएका तस्बिरमार्फत उत्तर कोरियाका एक दर्जन गोप्य परमाणु परीक्षण अड्डाहरुबारे खुृलासा सोमबार मात्रै भएको हो ।

उत्तर कोरियाले लुकाएर राखेका सैन्य क्षेत्रहरुमा अझै रहस्यमय तरिकाले परमाणु गतिविधि जारी राखिएको हुन सक्नेमा विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले भने मंगलबार यस विषयमा ट्वीट गर्दै आफूलाई सबै परीक्षण स्थलबारे पहिले नै थाहा भएकाले यसमा कुनै रहस्य नरहेको र यो खबरलाई आफूले नयाँ कुराका रुपमा नलिएको बताएका हुन् ।

उत्तर कोरियाबारे केही नकारात्मक समाचार आए त्यसबारे पहिले आफूलाई नै थाहा हुने हुँदा आफूले यसलाई सामान्य मानेको उनले बताएका हुन् । ‘सेन्टर फर स्ट्रटिजिक एण्ड इन्टरनेस्नल स्टडिज’ ले सार्वजानिक गरेको सो रिपोर्टबारे सबै ठूला अन्तराष्ट्रिय मिडियाहरुले उल्लेख गरेका थिए । उत्तर कोरियाली नेता किम जोङ उनसँग गत जुनमा भएको ऐतिहासिक भेटवार्तापछि ट्रम्पले बारम्बार उनैको पक्षमा बयान दिँदै आएका छन् । यस्तोमा उनले उत्तर कोरिया कसैका लागि खतरा नभएको समेत दाबी गर्ने गरेका हुन् ।

गत हप्ता मात्र संचारकर्मीहरु समक्ष बोल्दै उनले निशस्त्रीकरणबारे आफूलाई कुनै हतार नभएको र चाँडै नै किमसँग दोस्रो बैठक बस्ने बताएका हुन् । विश्लेषकहरुले भने उत्तर कोरियाले मिसाइल परीक्षण गर्न छाडेपछि अझै आफ्ना आणविक हतियार नष्ट नगरेको हुँदा कुनैपनि समय आफ्नो वचन फेर्न सक्नेमा शंका व्यक्त गरिरहेका छन् । यसरी सोमबार खुलासा भएका १३ मिसाइल परीक्षण स्थल बाहेक थप सात स्थलहरु पनि उत्तर कोरियाले गोप्य रुपमा सञ्चालन गरिरहेको रिपोर्टमा उल्लेख रहेको द वासिङटन पोस्टले जनाएको छ ।