उत्तरबाट दक्षिण कोरियातिर भागेका एक सैनिकको पेटमा कुपोषणका कारण कीरा

९ श्रावण २०७५, बुधबार १२:३५

साउन ९, काठमाडौं । एजेन्सी

उत्तर कोरियाका नेता किम जोङ–उनले आफ्नो देशका सैनिकहरूलाई स्वादिष्ट र राम्रो खानेकुरा दिनुपर्ने बताएका छन् ।

सैनिक रासन कारखानाको भ्रमण गर्ने क्रममा उनले यसो भनेका हुन् । यसअघि उत्तर कोरियाली सैनिकले पर्याप्त खाना नपाएको रिपोर्ट आइरहेको हुन्थ्यो ।

उत्तरबाट दक्षिण कोरियातिर भागेका एक सैनिकको पेटमा कुपोषणका कारण कीरा परेको समेत भेटिएको थियो ।

रासन कारखानाले स्वादिष्ट र स्वस्थ खानेकुरा तयार पारेर सैनिकहरूको पोषण बलियो बनाउनुपर्ने उनको निर्देशन थियो ।

कारखानाका स्टाफले सधैं पर्याप्त उत्पादन गरिरहेको र यसलाई पछि पनि कायम राख्नुपर्ने पनि किमले बताए ।

उता अमेरिका र उत्तर कोरियाबीच आणविक हतियार नष्ट गर्ने विषयमा कुराकानी चलिरहेको छ ।

आणविक हतियार पूर्णतः नष्ट गरेमा उत्तरमाथिका सबै प्रतिबन्ध हटाइन सक्छ । त्यसो भएमा देशको स्थिति पनि सुध्रिनेछ ।

यसअघि भूउपग्रहमार्फत उत्तर कोरियाका केही तस्वीर सार्वजनिक भएका थिए जसले उत्तर अब ब्यालिस्टिक क्षेप्यास्त्रको इन्जिन तयार पार्ने प्रतिष्ठान नष्ट गर्न शुरू गरेको छ ।