इपिएस भाषा परीक्षाका लागि आजदेखि आवेदन खुला

८ चैत्र २०७५, शुक्रबार ११:२५

काठमाडौं, दक्षिण कोरिया जान लिइने भाषा परीक्षाका लागि आजदेखि आवेदन खुलेको छ। वैदेशिक रोजगार विभागअन्तर्गत रहेको इपिएस कोरिया शाखाले सन् २०१९ मा कोरिया जानका लागि दिनुपर्ने भाषा परीक्षा आगामी जुन ८ र ९ अर्थात् जेठ २५ र २६ लाई तोकेको छ।परीक्षामा सामेल हुन आज चैत ८ देखि १७ सम्म फारम भर्न सकिनेछ। फारम देशैभर अनलाइनबाट भर्ने व्यवस्था मिलाइएको इपिएस कोरिया शाखाले जनाएको छ। इपिएस परीक्षाका लागि काठमाडौं र पोखरालाई परीक्षा केन्द्र तोकिएको छ। सन् २०१९ का लागि कोरियाले १० हजार ५० जना कामदार माग गरेको छ। जसमध्ये ७ हजार ५० जना निर्माण क्षेत्रमा र तीन हजार जना कृषितर्फ सिट निर्धारण गरिएको छ।