इन्डोनेशिया आफ्नो राजधानी किन बदल्न चाहन्छ ?

१७ बैशाख २०७६, मंगलवार १०:३९

इन्डोनेशियाको राजधानी के हो ? उत्तरमा भनिन्छ : जकार्ता । तर अब चाँडै नै यो प्रश्नको उत्तर बलदिन सक्छ । किनकि इन्डोनेशिया आफ्नो राजधानी जकार्ताबाट अन्यत्रै लैजान चाहन्छ । इन्डोनेशियाका योजना मन्त्रीले यो घोषणा गरेका हुन् । 

राष्ट्रपति जोको विडोहोले ‘महत्वपूर्ण फैसला’ गर्दै इन्डोनेशियाको राजधानी अन्यत्रै सार्ने बारेमा आफ्ना कुरा राखेको योजनामन्त्री बमबैंग ब्रोजेनेगोरोले जानकारी दिए ।

नयाँ राजधानी कुन स्थानमा हुन्छ, यसबारे अहिलेसम्म कुनै जानकारी दिइएको छैन । यद्दपि स्थानीय सञ्चारमाध्यमका अनुसार, ‘पलानकोराया’ को नाम सबैभन्दा अघि छ ।

‘पलानकोराया’ बोर्नियो द्वीपमा अवस्थित छ र सेन्ट्रल कालिमैनटनको उत्तर–पूर्वबाट सय किलोमिटर टाढा छ ।

किन चाहन्छ राजधानी बदल्न ?

जकार्तामा एक करोड मानिसको घर छ । तर इन्डोनेशियाको यो वर्तमान राजधानी विश्वमा सबैभन्दा छिटो डुब्दै गरेको शहर मध्ये एक हो ।

वास्तवमा इन्डोनेशिया दलदल जमिनको किनारमा अवस्थित छ, जहाँ १३ नदी एकआपसमा काटिएर बग्छन् । शोधकर्ताहरुका अनुसार, यो शहरको ठूलो भाग सन् २०५० सम्ममा डुब्न सक्छ  । उत्तरी जकार्ता प्रत्येक वर्ष औसत एकदेखि १५ सेन्टिमिटर डुब्दै गइरहेको छ ।

आधा जकार्ता समुन्द्रको तहभन्दा तल छ । पिउन र नुहाउनका लागि जमिनमुनिबाट पानीको निकास गर्नुलाई नै यसको प्रमुख कारण मानिएको छ ।

ट्राफिकको समस्या

सन् २०१६ मा आएको एक सर्वेक्षणको अनुसार, महानगर जकार्ताको ट्राफिक विश्वको सबैभन्दा धेरै खराब छ । सरकारी मन्त्रीहरु बैठकमा समयमा नै पुग्न प्रहरीको मद्दत लिने गर्दछन् ।

योजना मन्त्रीका अनुसार, जकार्ताको ट्राफिक समस्याका कारण अर्थव्यवस्थामा प्रत्येक वर्ष छ दशमलव आठ अरब डलर घाटा हुन्छ ।

पछिल्लो दुई दशकमा सरकारलाई विकेन्द्रित गर्ने ठूला कार्यक्रमहरु चलिरहेको छ, जसका कारण नगरपालिकालाई धेरै वित्तीय संसाधन र राजनीतिक अधिकार दिन सकियोस् । 

विकल्प के छ ?

मन्त्रिमण्डलको बैठकमा तीन विकल्पका बारेमा चर्चा भैरहेको छ ।

पहिलो विकल्पमा वर्तमान राजधानी जकार्तामा सरकारी कार्यालयलाई एक विशेष क्षेत्र बनाइने, दोस्रो विकल्पमा सरकारी कार्यालयलाई जकार्ताभन्दा बाहिर स्थान्तरण गराइने र तेस्रो विकल्पमा कुनै दोस्रो द्वीपमा नयाँ राजधानी बनाइने रहेको थियो । राष्ट्रपतिलाई भने तेस्रो विकल्प ठिक लागेको बताएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चामाध्यममा जनाइए अनुसार पलानकोरायालाई इन्डोनेशियाको नयाँ राजधानी बनाउन सकिन्छ । तर पलानकोरायाका नागरिकहरु भने मिश्रित प्रतिक्रिया दिइरहेका छन् ।

उच्च शिक्षा हासिल गरिरहेका एक विद्यार्थीले भनेका छन् ‘मलाई के लाग्छ भने शहरको विकास हुन्छ र यहाँ पनि जकार्तामा जस्तै राम्रो शिक्षा मिल्न सक्छ । तर यहाँको खाली जमिन र जङ्गलको प्रयोग गर्नुपर्ने हुन्छ । कालिमैनटन विश्वको फोक्सो हो र बचेको जङ्गल गुम्ने हो कि भन्ने चिन्ता छ ।’

योजना मन्त्री ब्रोजेनेगोरोले यो प्रक्रियलाई १० वर्ष लाग्न सक्ने बताएका छन् । ‘यदि अरु देश यो गर्न सक्छन् भने इन्डोनेशियाले पनि गर्न सक्छ । ब्राजिल, काजकिस्ता र म्यानमारले पनि राजधानी बदलेका छन् ।’ बैठकपछि उनले पत्रकारहरुलाई भने ।

इन्डोनेशियाका संस्थापक सुकार्णाेले पनि पलानकोरायालाई नै नयाँ राजधानी बनाउने प्रस्ताव दिएका थिए । सन् १९४५ मा डच (नेदरल्याण्ड) बाट स्वतन्त्र भए पछि कयौं पटक इन्डोनेशियाको राजधानी बदल्ने प्रस्तावहरु भएका थिए तर छ जना राष्ट्रपतिले यो गर्न सकेनन् ।