इटलीमा आप्रवासीहरू आएपछि रोजगारीको स्थिति बिग्रिएको धारणा, आइसकेकाहरूलाई छिट्टै फर्काउने

२४ जेष्ठ २०७५, बिहीबार १०:२६

जेठ २४, काठमाडौं ।

इटलीमा गत मार्च महिनामा भएको आमनिर्वाचनको लगभग तीन महिना बितेपछि बल्ल सरकार गठन भएको छ ।

सरकारको नेतृत्व जोसेप्पे कोन्तेले गरिरहेका छन् । बाध्यतावश दुई फरक विचारधाराका दलको गठबन्धनले सरकार बनाएका छन् ।

व्यवस्थाविरोधी फाइभ स्टार मुभमेन्ट र उग्रदक्षिणपन्थी लीग पार्टीले मिलेर सरकार बनाएका हुन् । गठबन्धन सम्झौताअनुसार लीग पार्टीले गृहमन्त्री पद पाएको छ । पार्टीका नेता म्यात्तियो सिल्भिनी गृहमन्त्री बन्नेबित्तिकै आप्रवासीविरोधी उद्देश्य प्रकट गरिसकेका छन् ।

इटलीको दक्षिणी भाग अफ्रिकी महादेशभन्दा जम्मा २३० किलोमिटर टाढा छ । त्यसैले ठूलो संख्यामा अफ्रिकाबाट आप्रवासीहरू इटलीको दक्षिणी भाग सिसिली पुग्छन् ।

त्यसैले पदभार ग्रहण गर्नेबित्तिकै सिल्भिनी सिसिली पुगे जहाँ उनको स्वागत र विरोध दुवै भयो । सिल्भिनीको लीग पार्टी यी आप्रवासीहरू आएपछि इटलीमा रोजगारीको स्थिति बिग्रिएको धारणा राख्छ ।

सिसिलीमा साल्भिनीले भने, ‘जिन्दगी बचाउने सर्वश्रेष्ठ तरिका भनेको मानिसहरूलाई डुंगामा चढ्न नदिनु हो । म युरोपेली सहयोगी र उत्तर अफ्रिकी देशसँग मिलेर यसमा काम गर्छु । ती हजारौं मानिसले इटलीमा सबका लागि घर र रोजगारी छ भन्ने भ्रम तोड्नुपर्छ । यहाँ त इटालेलीहरूकै लागि पनि घर र जागिर छैन ।’

साल्भिनीले नयाँ आप्रवासीहरूलाई रोकेर मात्र काम नचल्ने अनि पहिले आइसकेकाहरूलाई छिट्टै फर्काउनुपर्ने पनि बताए । यो बयानमा उनले कार्यान्वयन गरे भने इटलीको दृष्टिकोणको यो ठूलो परिवर्तन हुनेछ ।