इजरायली हवाई आक्रमणबाट दुई प्यालेस्टिनीको मृत्यु

१४ श्रावण २०७५, सोमबार १२:५७

साउन १४, काठमाडौं । एजेन्सी

इजरायली हवाई आक्रमणबाट उत्तरी गाजा क्षेत्रमा आइतबार दुई जना प्यालेस्टिनीको मृत्यु भएको छ । प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयका प्रवक्ता गाजा अश्रफ अल–क्वेद्राका अनुसार मारिनेमा २४ वर्षका दुई युवा आयमान अल–नज्जर र मुहान्द हमौदा रहेका छन् ।

तथापि, प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयको भनाइलाई अस्वीकार गर्दै इजरायली सेनाले हवाई आक्रमणबाट कुनै पनि प्यालेस्टिनीको मृत्यु नभएको दाबी गरेको छ । सेनाले इजरायलतर्फ क्षेप्यास्त्र प्रहार गर्ने क्रममा प्राविधिक त्रुटीका कारण विस्फोट भएर दुवैको मृत्यु भएको जनाएको छ ।

केही हप्तादेखि इजरायलले गाजा क्षेत्रमा पटकपटक हवाई हमला र तोपबाट आक्रमण गरिआएको छ जसबाट दर्जनौं प्यालेस्टिनीको मृत्यु हुनुका साथै घाइते भएका छन् । प्यालेस्टिनीहरुले समेत दक्षिणी इजरायलमा रकेट आक्रमण जारी राखेका छन् ।

पछिल्ला यस्ता घटनाक्रम बढ्दै गएपछि इजिप्ट, कतार र संयुक्त राष्ट्रसंघले परिस्थितिलाई शान्त तुल्याउन भरमग्दुर प्रयास गरिरहेका छन् । प्यालेस्टिनीहरुले इजरायली नाकाबन्दीको बिरोध स्वरुप आयोजना गरेका र्यालीमा इजरायलले गरेको कारबाहीबाट करिब १५५ जना प्यालेस्टिनीको मृत्यु हुनुका साथै १७,००० भन्दा बढी घाइते भएको प्यालेस्टिनी अधिकारीहरुले जनाएका छन् ।