इच्छाविपरीत लोला र रङ दले कारवाही : विज्ञप्ती जारी, रुपन्देहीमा दुई दिन होली मनाउने

१८ फाल्गुन २०७४, शुक्रबार ०८:४७

फागुन १८, काठमाडौं ।

होली पर्वलाई मर्यादित र सभ्य बनाउन रुपन्देही प्रहरीले निगरानी बढाएको छ । तराई र पहाड मुलका बासिन्दाको उतिकै बसोबास रहेको रुपन्देहीमा दुई दिन होली मनाउने भएकाले प्रहरीले निगरानी बढाइएको हो ।

रुपन्देही प्रहरीले अमर्यादितरुपमा होली मनाउनेक्रम बढेपछि यो वर्ष त्यस्ता गतिविधि रोक्न विशेष सुरक्षा अभियान सुरु गरेको जनाएको छ ।


उच्छृंखल गतिविधि रोक्न प्रहरी गस्ती बढाइएको इलाका प्रहरी कार्यालय, बुटवलका डीएसपी पवनराज भट्टराईले जानकारी दिए ।

होलीका दिन ट्राफिक नियम उल्लघंन गरी सवारी चलाउनेलाई पनि कारबाही गरिने ट्राफिक प्रहरीले जनाएको छ ।

सबैको साझा र मित्रवत चाड भएकाले मर्यादापूर्बक होली मनाउन इलाका प्रहरी कार्यालय, बुटवलले पनि आग्रह गरेको छ ।

होलीका दिन हेलमेट नलगाई मोटरसाइकल चलाउने, दुईभन्दा बढी बस्ने, मादक पदार्थ सेवन गर्ने, छतमा चढेर यात्रा गर्नेलाई कारवाही गरिने पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय, बुटवलले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय, रुपन्देहीले एक विज्ञप्ती जारी गर्दै इच्छाविपरीत लोला र रङ दले कारवाही गर्ने जनाएको छ ।