आयोगले शर्माविरुद्ध अर्को मुद्दा दायर, चार करोड २९ लाख बिगो दाबी

१५ माघ २०७४, सोमबार ११:०९

माघ १५ , काठमाडौं ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्माले गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।


कर फर्छ्योट आयोगमार्फत अर्बौं रुपैयाँको कर मिनाहा दिएको अभियोगमा दायर मुद्दा विचाराधीन रहेकै अवस्थामा शर्माविरुद्ध अख्तियारले अर्को मुद्दा दायर गरेको हो । झण्डै चार महिना लामो अनुसन्धानपछि अख्तियारले शर्माको चार करोड २९ लाख ५४ हजार एक सय २४ रुपैयाँको स्रोत नखुलेको दाबी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सरकारी सेवा सुरु गरेपछि २०७३ मंसिर मशान्तसम्म शर्माको ३ करोड ६३ लाख ७२ हजार ९६१ रुपैयाँ मात्र वैध आर्जन देखिएको अख्तियारको दाबी छ । तर शर्माले विभिन्न शीर्षकमा ७ करोड ९३ लाख २७ हजार ८५ रुपैयाँ खर्च देखिएकाले बाँकी चार करोड २९ लाख ५४ हजार एक सय २४ रुपैयाँको स्रोत नखुलेको अख्तियारले दाबी गरेको छ ।


अख्तियारले विज्ञप्तिमा भनेको छ ‘निजले जाँच अवधिमा ३ करोड ६३ लाख ७२ हजार ९६१ रुपैयाँ आयआर्जन गरेको देखियो भने सोही अवधिमा चल अचल सम्पत्ति सिर्जना एवं शेयर लगानी लगायतका शीर्षकहरुमा समेत गरी ७ करोड ९३ लाख २७ हजजार ८५ रुपैयाँ खर्च गरेको देखिंदा वैध आय ३ करोड ६३ लाख ७२ हजार ९६१ रुपैयाँको तुलनामा ४ करोड २९ लाख ५४ हजार १२४ रुपैयाँ बराबरको सम्पत्तिको स्रोत नखुलेको पाइएबाट निजको सम्पत्ति विवरण अमिल्दो र अस्वभाविक देखिन आयो ।’

अख्तियारले शर्माउपर चार करोड २९ लाख ५४ हजार १ सय २४ रुपैयाँ विगो कायम गरी मुद्दा दायर गरेको छ । अख्तियारले शर्माले आर्जन गरेको केही रकम श्रीमती कल्पना उप्रेती शर्माको नाममा पनि राखेको देखिएकाले ती सम्पत्तिहरू जफत गर्ने प्रयोजनको लागि कल्पना उप्रेती शर्मालाई पनि प्रतिवादी बनाएर आरोपपत्र दायर गरेको छ

गैरकानूनी सम्पत्ति आर्जनको विषयमा बयानका लागि बोलाउँदा पनि शर्मा पूरा समय अख्तियारमा उपस्थित भएका थिएनन् ।अख्तियारमा उपस्थित भएर दिएको वयान र प्राप्त प्रमाणका आधारमा उनीमाथि अभियोगपत्र तयार भएको अख्तियार स्रोत बताउँछ ।

तत्कालिन कर फर्छ्योट आयोगमार्फत अस्वभाविक कर मिनहा दिइएको अभियोगमा उनी गत जेठमा पक्राउ परेका थिए ।

उक्त मुद्दामा उनीसहित आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकालविरुद्धको १० अर्ब २ करोड रुपैयाँ बिगोको मुद्दा हाल अदालतमा विचाराधीन छ । कर फर्छ्योटको बाँकी फाइलमाथिको अनुसन्धान अझै सकिएको छैन ।