आयोगका प्रस्तावित अध्यक्षका दुई जन्ममिति

९ फाल्गुन २०७५, बिहीबार ०९:२३

काठमाडौं , मुस्लिम आयोगका प्रस्तावित अध्यक्ष समिम मियाँ अन्सारीको जन्ममितिका विषयमा छानबिन सुरु गरिएको छ । संसदीय सुनुवाइ समितिको मंगलबारको बैठकले तीनवटै निकायलाई तीन दिनभित्र आवश्यक कागजात पठाउन पत्र पठाएको भए पनि सम्बन्धित निकायले छानबिन गरेर मात्रै जवाफ दिने पत्र पठाएका छन् ।
छानबिनको क्रममा उनको फरक जन्ममिति भेटिएको थियो । जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट २०५५ साल पुस २२ मा लिएको नागरिकताको ढड्डामा २०३७ साल असोज २४ गते र २०६६ साल भदौ ९ मा प्रतिलिपि लिँदा उनको जन्ममिति २०३० साल असोज २४ गते उल्लेख छ । अन्सारीको बारेमा निर्वाचन आयोग, संवैधानिक परिषद् र काठमाडौं जिल्ला प्रशासनबाट मगाइएका पत्र नआएकाले आइतबारसम्म समिति बैठक सारिएको समितिका एक सदस्यले बताए । मियाँका नागरिकता, शैक्षिक प्रमाणपत्र र पार्टीमा संलग्नताबारेका प्रमाण समितिले मागेको थियो ।
०७३८४÷८७१ नागरिकता नम्बर रहेको अन्सारीको प्रतिलिपि जारी गर्दा प्रशासनको ढड्डामा सिडिओको नामसमेत उल्लेख छैन । प्रशासन स्रोतका अनुसार नागरिकता नम्बर ८७० मा नागरिकता वाहकको जारी गर्ने प्रमुख जिल्ला अधिकारीको नाम योगेन्द्रनाथ ओझा उल्लेख छ । अन्सारीको ८७१ नम्बर रहेको नागरिकतामा सिडिओको नाम रहने ठाउँमा ‘द’ मात्रै लेखिएको स्रोतले जानकारी दिएको छ । यो समाचार आजको सौर्य दैनिकमा छापिएको छ ।