आठ महिनादेखि बन्द रहेका विद्यालय खोल्न ललितपुर महानगरको निर्देशन

२३ मंसिर २०७७, मंगलवार २१:०२

ललितपुरमा आठ महिनादेखि बन्द रहेका विद्यालयको नियमित पठनपाठन सुरु हुने भएको छ । ललितपुर महानगरपालिकाले सो क्षेत्रभित्र पर्ने विद्यालय खोल्न निर्देशन दिएको छ ।

मंगलबार बसेको महानगरको शिक्षा समितिको बैठकले विद्यालय खोल्ने निर्णय गरेको हो । समितिले विद्यालय व्यवस्थापन समिति र शिक्षक–अभिभावक संघबीच छलफल गरी मापदण्ड तय गर्न पनि विद्यालयहरुलाई आग्रह गरेको छ ।

सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना गर्दै विद्यालयको पठन–पाठन सञ्चालन गर्ने निर्णय गरिएको शिक्षा समितिका संयोजकसमेत रहनु भएका महानगर प्रमुख चिरिबाबु महर्जनले जानकारी दिनुभएको छ ।

महानगरपालिका क्षेत्रमा ४० वटा सामुदायिक विद्यालय र अन्य निजी विद्यालयलाई समेत सोहीबमोजिम गर्न महानगरपालिकाले निर्देशन गरेको हो ।

महानगरले उपप्रमुख गीता सत्यालको संयोजकत्वमा अनुगमन समिति गठन गरेको छ । समितिलाई विद्यालय अनुगमन गर्ने र आवश्यक छलफल गरी शिक्षा समिति र महानगरपालिकालाई सुझाव पेस गर्ने जिम्मेवारी दिइएको छ ।

महानगरले स्वास्थ्य मापदण्ड पालना गरी विद्यालय खोल्न र अभिभावकलाई मापदण्ड अपनाएर मात्रै बालबालिकालाई विद्यालय पठाउन आग्रह गरेको छ ।