आज सवैभन्दा लामो चन्द्रग्रहण लाग्ने, कुन कुन समयमा के के गर्ने ?

११ श्रावण २०७५, शुक्रबार १३:४१

साउन ११, काठमाडौं ।

२१ औं शताव्दीको सवैभन्दा लामो खग्रास चन्द्रग्रहण लाग्ने भएको छ । साउन महिनामा लाग्ने चन्द्रग्रहण महत्वपूर्ण खगोलीय घटना हो । साउन ११ गते लाग्ने चन्द्रग्रहण ६ घन्टा १५ मिनेट सम्म रहेने छ ।

जसमा पूर्ण चन्द्रग्रहणको स्थिति १०३ मिनेट रहने खगोलशास्त्रीहरुले जनाएका छन् । नेपालमा चन्द्रग्रहण मध्यरातको करिब १२ बजेबाट लाग्नेछ । बुधवार राति खग्रास चन्द्रग्रहण परेको छ । ग्रहण परेको दिनमा गरेको तीर्थस्नान, भजनकीर्तन र दानको विशेष महत्त्व छ ।

त्यसबेलामा खानपिन, मलमूत्र त्याग र कामक्रीडा गर्न नहुने मान्यता छ । तर त्यसभन्दा नौ घन्टाअघिदेखि नै यी कर्म गर्नुहुँदैन ।

ग्रहणभन्दा अघिको नौ घन्टालाई सूतक भनिन्छ भने ग्रहण अवधिलाई पर्व भनिन्छ । भनेपछि बिहान साढे आठ बजेपछि केही पनि खानुहुँदैन । सूतककालमा बच्चा, बूढा, गर्भवती स्त्री र आतूरलाई चाहिँ भोजन गर्न प्रतिबन्ध लगाइएको छैन ।

ग्रहणका बेला सुत्नाले आयुक्षय, खानाले दुःसाध्य रोग र अधोगति, पिसाब गर्दा दरिद्रता, दिसा गरे अर्को जन्ममा किराफट्याङ्ग्राको जुनी र मैथुन गरे सुँगुरको जुनी प्राप्त हुन्छ भनी बताइएको छ। ग्रहणका बेला बच्चा जन्मिएमा पनि अरिष्टयोग लाग्ने हुँदा उचित समयमा स्वस्तिशान्ति गराउनुपर्दछ।

सूतक शुरु भएपछि घरमा भएका अचार, दूध, दही आदि खाद्य पदार्थमा कुश, तुलसी वा दूबो राख्नुपर्छ । त्यसो गर्दा यिनीहरूलाई ग्रहणले दूषित गर्दैन । घरमा भएका सुक्खा पदार्थमा कुश राखिरहनु पर्दैन ।

सूतकको समयमा तथा ग्रहणका बेलामा दान र जप गरेको ठूलो पुण्य हुन्छ । पवित्र नदी तथा तलाउहरूमा स्नान गर्नुपर्छ । ग्रहण सकिएको भोलिपल्ट बिहान ब्राह्मणहरूलाई दान दिनुपर्छ ।

ग्रहणका बेला देवपूजा, मन्त्र–उपासना, तन्त्रसाधना जप, होम, श्राद्ध लगायतका आध्यात्मिक कार्य गर्दा लाभ हुने बताइएको छ। तन्त्र–मन्त्र सिद्धि गर्न सर्वोपयोगी समयका रूपमा ग्रहणकाललाई लिने गरिन्छ। ग्रहण सुरु हुन लाग्दा स्नान, सुरु भएपछि हवन, मोक्ष हुने समयमा दान र मोक्षपछि वस्त्रसहित स्नान गर्नुपर्ने धर्मशास्त्रीय विधान रहेको छ। ग्रहणकालमा गरिएको स्नान–दान विशेष पुण्यदायी हुने मानिन्छ।

स्नान गर्ने जल शुद्ध हुनु आवश्यक हुन्छ। भूमिगत कुवा तथा इनारको जलभन्दा झरनाको जल, झरनाभन्दा तलाउ–पोखरी, त्यसभन्दा नदी, नदीभन्दा तीर्थको जल, त्योभन्दा पनि महानदीको जल, महानदीभन्दा गंगाजल र गंगाजलभन्दा समुद्रको जलमा स्नान गर्नु दस–दस गुणा अधिक पुण्यदायी हुने बताइएको छ।