आज सर्वोच्च अदालतमा कान्तिपुर दैनिकले वयान दिँदै

१८ फाल्गुन २०७४, शुक्रबार ०९:५१

फागुन १८, काठमाडौं ।

कान्तिपुर पब्लिकेशनका प्रकाशक, सम्पादक एवं सञ्चारकर्मीले आज सर्वोच्च अदालतमा उपस्थित भएर ‘अदालतको अवहेलना’ मा वयान दिँदैछन् ।

अदालतले काटेको ७२ घण्टे पूर्जीका आधारमा कान्तिपुरकर्मीहरु वयानका लागि तयार भएका हुन् ।

प्रधानन्यायाधीश गोपाल पराजुलीको उमेरसम्बन्धी समाचार प्रकाशित गरेपछि सर्वोच्च अदालतमा कान्तिपुरविरुद्ध अदालतको अवहेलना मुद्दा दायर छ ।

सो मुद्दामा तीन दिनभित्र वयानका लागि हाजिर हुनुभन्ने प्रधानन्यायाधीश गोपाल पराजुलीको आदेशअनुसार आज शुक्रबार दिउँसो वयानका लागि जान लागेको कान्तिपुर स्रोतले बतायो ।


प्रधानन्यायाधीशबारे कान्तिपुरमा प्रकाशित समाचार कानूनी व्यवस्था प्रतिकुल, अनर्गल र भ्रामक रहेको प्रथम दृष्टिमा नै देखिन आएको भन्दै अदालतले अवहेलना मुद्दामा वयानका लागि म्याद थाम्नसमेत नपाउने गरी कान्तिपुरलाई बोलाएको हो ।

सर्वोच्च अदालतले यसअघि डा. गोविन्द केसीलाई अदालतको अवहेलनामा कारवाही अगाडि बढाई एक रात गिरफ्तार समेत गरेर अदालतमा उपस्थित गराएको थियो ।

प्रधानन्याधीश पराजुलीले अाफैं जोडिएको अवहेलनासम्बन्धी मुद्दा अाफैंले हेरिरहेका छन् ।