आज यो वर्षको पहिलो सूर्य ग्रहण, किन गर्भवतीहरुले विशेष ध्यान पुर्‍याउनुपर्छ ?

२९ असार २०७५, शुक्रबार ०५:२४

असार २९, काठमाडौं ।

आज यो वर्षको पहिलो सूर्य ग्रहण लागेको छ । बिहान करिब साढे सात बजेबाट सुरु भएको सूर्यग्रहण बिहान करिब १० बजे सकिने छ ।

यो सूर्य ग्रहण अष्ट्रेलिया, मेलवर्न, अन्टार्कटिका र अष्ट्रियाको उत्तर क्षेत्र लगायतका विश्वका विभिन्न स्थानबाट अवलोकन गर्न सकिन्छ । नेपाल र भारतबाट भने यो सूर्यग्रहण देख्न नसकिने नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो)ले जनाएको छ ।

यो वर्षको दोस्रो सूर्यग्रहण अगस्ट ११ अर्थात् साउन २६ गते परेको छ । उक्त सूर्यग्रहण पनि नेपाल र भारतबाट देख्न सकिने छैन । त्यसलाई चीन, तिब्बत, नर्वे, मंगोलिया लगायतका स्थानबाट हेर्न सकिन्छ ।

यसअघि गत वर्ष माघमा पनि सूर्यग्रहण लागेको थियो ।

  • सूर्यग्रहणको बेला ध्यान दिनुपर्ने कुरा :

ग्रहणलाई विज्ञानले एक खगोलीय घटना भन्दछ तर ज्योतिषले यसलाई भगवानको कष्ट मान्दछ । त्यसैले ज्योतिषलाई विश्वास गर्नेहरुले ग्रहणको बेला केही कुराहरुमा ध्यान दिनु जरुरी छ ।

सूर्यग्रहणको बेला कुनै पनि नयाँ कार्यको सुरुआत गर्न नहुने ज्योतिषीहरु बताउँछन् । साथै ग्रहण अवधिभर खाना बनाउन, खान र सुत्न पनि बर्जित मानिन्छ ।

  • किन गर्भवतीहरुले विशेष ध्यान पुर्‍याउनुपर्छ ?

ग्रहणलाई नांगो आँखाले हेर्न हुँदैन । ग्रहणको बेला गर्भवतीहरुले विशेष ध्यान पुर्‍याउनुपर्ने जानकारहरु बताउँछन् । सूर्य ग्रहणको बेला वातावरणमा नकारात्मक ऊर्जा फैलिने र त्यसले गर्भमा रहेको बच्चालाई असर गर्ने बताइन्छ ।