आज बिहान फिजिमा ८.२ म्याग्नेच्युड तीब्रताको शक्तिशाली भूकम्प

३ भाद्र २०७५, आईतवार ११:२३

भदौ ३, काठमाडौं ।

फिजी र तोङ्गा नजिकैको प्रशान्त महासागरमा शक्तिशाली भूकम्प मापन गरिएको बताइएको छ ।

आइतबार बिहान फिजीका पूर्वी लेभुका क्षेत्रमा ८.२ म्याग्नेच्युडको भूकम्प गएको हो ।

अमेरिकी भूगर्भ विभागका अनुसार भूकम्प जमिनको सतहभन्दा पाँच सय ५९ किलोमिटर गहिराइबाट गएको बताएको हो ।

अमेरिकी सुनामी चेतावनी केन्द्रले भूकम्प अत्यधिक गहिराइबाट गएका कारण सुनामीको खतरा भने नरहेको बताएको छ । केन्द्रले सुनामीको सानो छाल आएपनि यसले कुनै क्षती नपुगेको जानकारी दिएको छ ।

अमेरिकी भूगर्भ विभागकी जियोफिजिस्ट जाना पर्सलेले रोयटर्सलाई भनिन्, ‘मैले क्षतीको त्यति आशा गरेकी छैन । मानिसहरुले यो महसुस गर्छन् तर कुनै क्षती भने हुनेछैन,’।

भूकम्पका कारण न्यूजिल्याण्डमा सुनामीको कुनै खतरा नरहेको सिभिल डिभेन्सका प्रवक्ताले जानकारी दिए ।