आज प्रधानमन्त्रीले सदनमा जवाफ दिने

२४ बैशाख २०७६, मंगलवार ११:०५

काठमाडौं, आगामी आर्थिक वर्ष २०७६। ०७७ को नीति तथा कार्यक्रम आज पारित गर्ने कार्यसूची रहेको छ ।

संघीय संसद्का दुवै सदनमा नीति तथा कार्यक्रममाथि सांसदले उठाएका प्रश्नको जवाफ प्रधानमन्त्री केपी शर्मा ओलीले दिने र आजै पारित गर्ने तयारी संसद् सचिवालयको छ ।

शुक्रबार प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा राष्ट्रपतिद्वारा प्रस्तुत नीति तथा कार्यक्रममाथि आइतबारदेखिको छलफल पनि आज सकिँदै छ।

नीति तथा कार्यक्रममाथि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी राजपा र नेपाल मजदुर किसान पार्टी नेमकिपाका तर्फबाट छुट्टाछुट्टै संशोधनको सूचना दर्ता भएको छ ।

नीति तथा कार्यक्रममा उल्लिखित मेरो सरकार संशोधन हुनुपर्ने कांग्रेसको प्रमुख माग छ । कांग्रेसले मेरो सरकारको सट्टा नेपाल सरकार राख्नुपर्ने भन्दै संशोधन दर्ता गराएको छ । राजपाले संविधान संशोधन गर्नुपर्ने माग गरेको छ ।संशोधनकर्ता सांसदहरूले संशोधन फिर्ता नलिए प्रक्रियामार्फत टुंगो लगाइनेछ ।