आज नवरात्रि सिद्धिधात्रीको पूजा अनुष्ठान गरी मनाईदै

१२ आश्विन २०७४, बिहीबार २३:४१

कठमाडौं, १३ असोज । आज नवरात्रिको नवौं दिन दुर्गा माताको नवौं शक्ति स्वरुपा माता सिद्धिधात्रीको विशेष पूजा अनुष्ठान गरि ने मनाईदै छ । माता सिद्धिधात्रीको साथै आज धनधान्यकी देवी माता महालक्ष्मी देवीको पनि पूजा अर्चना गरिन्छ ।

आजको दिन शक्तिस्वरुप सिद्धिधात्रीको पूजा गर्नाले सम्पूर्ण संसारनै जित्नसक्ने सिद्धता हासिल हुने र संसारमा केही कुरापनि अगम्य नहुने मान्यता छ । देवीपूराणमा उल्लेख भएअनुसार यिनै देवीको असिम कृपाका कारण शिवजी स्वंयले पनि सिद्धि प्राप्त गरेका हुन् भन्ने चलन रहेको छ । । सिंहको वाहनमा बिराजमान यि देवीको प्रिय वस्तु कमलको फूल हो । माता सिद्धिधात्रीको साधना गर्नाले यम लोक र परलोक दुवैतर्फ मोक्ष प्राप्तगर्ने विश्वाश छ ।

शक्तिस्वरुप सिद्धिधात्री प्रसन्न भएर वरदान दिएमा साधक साधीकाको कुनैपनि इच्छा बाँकी नहुने गरि सम्पूर्ण इच्छा पूरा गरिदिने भनि मार्केण्ड्य पूराणमा उल्लेखित छ ।

आजको दिन निर्माण र शिल्पकला अनि कलपूर्जाका देवता विश्वकर्माको दिनकारुपमा पनि लिने चलन छ । इञ्जिनहरु, गाडी, कारखाना आदिमा वलि चढाइन्छ । आज नेपाली सैनिक मुख्यालय, प्रहरी प्रधान कार्यलय लगायतका ठाँउमा कलपूर्जा, हतियार र गाडीहरुको विशेष पूजा सहित जङ्गी निशान पूजा र कोत पूजा पनि गरिन्छ ।

आज उपत्यका भित्रका दक्षिणकाली, गुहेश्वरी, मैतीदेवी, कालिकास्थान, शोभाभगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, सङ्कटा, बज्रयोगिनी, बज्रवाराही लगायतका शक्तिपीठहरुमा धेरै घुँइचो लाग्ने गर्दछ ।