आजभन्दा भोलि र पर्सी देशका धेरै ठाउँमा सामान्यदेखि हल्का पानी पर्ने सम्भावना

२२ जेष्ठ २०७७, बिहीबार ०९:५७

काठमाण्डौ , अरब सागरमा बनेको चक्रवात निसर्ग कमजोर हुँदै गए पनि नेपालसम्म आइपुग्दा यसले असर गर्ने भएकाले आजभन्दा भोलि र पर्सी देशका धेरै ठाउँमा सामान्यदेखि हल्का पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् वरुण पौडेलले यसकै प्रभावले वाग्मती र गण्डकी प्रदेशको केही ठाउँमा ठूलो पानी पर्ने, बाढी र पहिरोको जोखिम रहेको भन्दै सावधानी अपनाउन आग्रह गर्नुभएको छ ।

यसैगरी उच्च हिमाली भेगमा हिमपात पनि हुने उहाँको अनुमान छ । निसर्ग चक्रवातसँगै स्थानीय र पश्चिमी वायुको प्रभावले अहिले पनि देशभरिकै मौसम बदली भइ सुदूरपश्चिम, कर्णाली, गण्डकी र प्रदेश ५ का केही ठाउँमा पानी परिरहेको उहाँले जानकारी दिनुभयो ।

आज पनि देशका धेरै ठाउँको मौसम पूर्णरुपमा नखुल्ने तर आजको भन्दा भोलि र पर्सीको मौसम अझै बिग्रने सम्भावना रहेको मौसमविद् पौडेलको भनाइ छ । पर्सी शनिबार बेलुकीदेखि भने मौसम खुल्दै जाने उहाँको अनुमान छ ।