आजबाट माइक्रोबस चालक र सहचालकलाई फ्लोरेसेन्ट ज्याकेट अनिवार्यः सिटौला

१ मंसिर २०७५, शनिबार ११:३७

काठमाडौं । काठमाडौं उपत्यकामा सञ्चालित माइक्रो बसका चालक र सहचालकले पनि आजबाट चम्किलो देखिने फ्लोरेसेन्ट ज्याकेट अनिवार्य लगाउनु पर्ने भएको छ ।

महासंघका महासचिव सरोज सिटौलाले फ्लोरेसेन्ट ज्याकेटले चालकको पहिचान हुने, रातिको समयमा टाढैबाट चम्किलो देखिने र चालकका बारेमा सेवाग्राहीलाई केही गुनासो भए उजुरी गर्नसमेत सजिलो हुने भएकाले यस्तो निर्णय गरिएको बताए ।हाल ट्याक्सी चालकहरुले भने फ्लोरेसेन्ट ज्याकेट लगाउँदै आएका छन् । आगामी दिनहरुमा ठूला सवारीसाधनका चालक तथा सहचालकलाई समेत क्रमशः ज्याकेट लगाउने व्यवस्था गर्ने महासचिव सिटौलाले बताए ।

महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक बसन्तकुमार पन्तका अनुसार चालकलाई सुन्तला रंगको र सहचालकलाई हरियो रंगको ज्याकेट लगाउनुपर्ने नियम छ ।

हाल काठमाडौं उपत्यकाभित्र मात्र यो व्यवस्था गरिए पनि आगामी दिनमा देशभर लगाउनुपर्ने व्यवस्था गर्ने ट्राफिक महाशाखाको तयारी छ ।महाशाखाका तत्कालीन प्रहरी नायब महानिरीक्षक सर्वेन्द्र खनालको पालामा फ्लोरेसेन्ट ज्याकेट लगाउने नियम बनाइएको थियो । तर, त्यसको कार्यान्वयन भएको थिएन ।