आजदेखि काठमाडौंमा सार्वजनिक बस सञ्चालन

५ श्रावण २०७७, सोमबार १०:३९

काठमाडौं , सोमबारदेखि यातायात व्यवसायीहरुले सार्वजनिक बस सञ्चालन गरेका छन्। सार्वजनिक यातायात केन्द्रीय महासंघअन्तर्गत सञ्चालित १७७ वटै कम्पनीका बसहरु सञ्चालनमा आएको महासंघका अध्यक्ष होमप्रसाद अधिकारीले जानकारी दिनु भयो । आइतबार परीक्षण सञ्चालन गरिएको र सामबारदेखि सरकारले तोकेबमोजिम जिल्लाभित्रै बसहरु सञ्चालन गरिएको अधिकारीको भनाई छ ।

अध्यक्ष अधिकारीले सोमबार बिहानैदेखि बस सञ्चालन भइरहेको तर यात्रुको उपस्थिति अत्यन्त कम भएकाले थप अध्ययन गरी कति बस सञ्चालन गर्ने भन्ने बिषयमा छलफल हुने जानकारी दिनु भयो । कोरोना भाइरसको महामारीका कारण लामो समय बस सञ्चालन नहुँदा आर्थिक मारमा परेको अहिले राष्ट्र बैंकको मौद्रिक नीतिले आफूहरुका माग सम्बोधन गरेको भन्दै बस सञ्चालनका लागि तयार भएको अधिकारीले बताउनु भयो । सरकारसँग प्रदेशस्तरमा बस सञ्चालनको अनुमतिका लागि आग्रह गरिएको अध्यक्ष अधिकारीले बताउनु भयो ।