आगामी चुनावमा एमालेले माओवादी केन्द्रको साथ लिने, सबै वामपन्थीसँग तालमेल गर्ने निर्णय

१५ आश्विन २०७४, आईतवार ०७:५५

१५ असोज, काठमाडौँ । नेकपा एमालेले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा वामपन्थी दलसँग तालमेल गर्ने निर्णय गरेको छ । चुनावको मिति नजिकिदैं जाँदा माओवादी केन्द्रसंग चुनावी तालमेलको प्रक्रिया अघि बढाउने भएको हो ।

दशैंको टीका लगत्तै आज बसेको एमाले स्थायी कमिटीको बैठकले सम्पूर्ण वामपन्थी र प्रगतिशिल पार्टीसंग एकता गर्दै आगामी निर्वाचनमा होमिने निर्णय गरेको हो ।

 

मंसिर १० र २१ गतेका लागि तय प्रदेश र प्रतिनिधि सभा निर्वाचनको रणनीति तय गर्न बोलाईएको स्थायी कमिटीमा बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको तयारी र पार्टीको अवस्थाका बिषयमा धारणा राखेका थिए ।

 

स्थानीय तह निर्वाचनको अन्तिम मतपरिणामसंगै सबै राजनीतिक दलको स्थितिको विश्लेषण गर्दै एमाले स्थायी कमिटी बैठकले माआवादी केन्द्र सहितका बामपन्थी शक्तिलाई साथमा लिएर प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा होमिनुपर्ने निष्कर्ष निकालेको उपाध्यक्ष भिम रावलले जानकारी दिए ।