आईपीएलमा हैदरावादको ९ विकेटको शानदार जित

२७ चैत्र २०७४, मंगलवार ०९:४९

चैत २७, काठमाडौं ।

इन्डियन प्रिमियर लीग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदरावादले शानदार जित हात पारेको छ । सोमबार राति भएको खेलमा हैदरावादले राजस्थान रोयल्सलाई नौ विकेटले हराएर सुखद सुरुआत गर्‍यो ।

राजस्थानले दिएको १२६ रनको लक्ष्य पछ्याएको हैदरावादले एक विकेटको क्षतिमा १२७ रन बनाएर सहज जित निकाल्यो । यो जितमा शिखर धवन र कप्तान केन विलियम्सनले ११३ रनको साझेदारी गरे ।

धवनले ५७ बलमा ७७ रन बनाए । त्यसमा १३ चौका र एक छक्का सामेल थियो । धवन प्लेयर अफ द म्याच बने ।

यसैगरी कप्तान केन विलियम्सनले ३५ बलमा ३६ रन बनाए । धवन र विलिम्सन दुबै अविजित रहे । रिद्धिमान साहाले ५ रन बनाए ।

राजस्थानका लागि जयदेव उनादकदले एक विकेट लिए ।

यसअघि राजस्थानका सन्जु सामसन अर्धशतक बनाउन एक रनले चुके । श्रेयस गोपालले १८, राहुल त्रिपाठीले १७ र अजिन्क्य रहाणेले १३ रन बनाए । अरुले दोहोरो अंकको रन बनाउन सकेनन् ।

बलिङतर्फ हैदरावादका सकिब अल हसन र सिद्धार्थ कौलले २-२ विकेट लिए । राशिद खान, बिली स्टानलेक र भुवनेश्वर कुमारले एक-एक विकेट लिए ।