आइतबारदेखि प्रहरीले उपत्यकामा तीन दिन निःशुल्क बस सञ्चालन गर्ने

१८ आश्विन २०७६, शनिबार १८:१५

काठमाडौं, नेपाल प्रहरीले काठमाडौं उपत्यकामा आइतबारदेखि तीन दिनसम्म बडादशैंको अवसरमा निःशुल्क रुपमा बस संचालन गर्ने भएको छ ।

महाअष्ठमी, महानवमी र विजयादशमीको दिन निःशुल्क बस सञ्चालन गरिने प्रहरीले जनाएको छ ।

प्रहरीले दुई वटा रुट तय गरेको छ । पहिलो रुटमा नक्सालबाट पुतलीसडक, माइतीघर, कुपण्डोल, पुल्चोक, जावलाखेल, एकान्तकुना, बल्खु, कलंकी, कालिमाटी, त्रिपुरेश्वर, नागस्थान, रत्नपार्क, दरबारमार्ग, जयनेपाल हुँदै पुनः नक्सालसम्म चल्नेछ । जुन रुटमा बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म बस चल्नेछ ।

यस्तै दोस्रो रुटको रुपमा नक्सालबाट सुरु भइ मैतिदेवी, गौशाला, कोटेश्वर, तीनकुने, बबरमहल, माइतीघर, त्रिपुरेश्वर, नागस्थान, लैनचौर, लाजिम्पाट, नारायणगोपाल चोक, बालुवाटार हुँदै नक्सालसम्म चल्नेछ । यो रुटमा पनि बिहान ११ बजेदेखि ४ बजेसम्म निःशुल्क बस चल्नेछ ।