अस्पताल र सामुदायिक विध्यालय विकासका लागि टेलिकमको सहयोग

१२ बैशाख २०७५, बुधबार ११:२७

वैशाख १२, काठमाडौ ।

नेपाल टेलिकमले विभिन्न अस्पताललाई कम्बल सहयोग र केही सामुदायिक विध्यालयमा आइसिटी सेन्टर स्थापना गरेको छ।

टेलिकमले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत उक्त सहयोग गर्ने घोषणा गरेको थियो। चौधौं वार्षिकोत्सवको अवसरमा आफ्ना ६ वटा क्षेत्रीय निर्देशनालय अन्तर्गत एक–एक स्थानका अस्पतालमा कम्बल वितरण गर्ने कार्यक्रम अनुसार कोसी अञ्चल अस्पताल विराटनगर, नारायणी अञ्चल अस्पताल वीरगन्ज, भक्तपुर क्यान्सर अस्पताल, भेरी अञ्चल अस्पताल नेपालगन्ज , महाकाली अञ्चल अस्पताल महेन्द्रनगर र उदयपुर जिल्लाको उदयपुरगढी गाउँपालिकाको वडा नम्बर ६ का अग्निपीडित स्थानीय बासिन्दालाई    २५–२५ थान कम्बल उपलब्ध गराइएको जनाएको छ।

लुम्बिनी अञ्चल अस्पताल बुटवलमा पनि केही दिनभित्रै कम्बल वितरण गर्ने जनाएको छ । टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले हालै एक कार्यक्रमबीच भक्तपुर क्यान्सर अस्पतालका निर्देशक डा.ऋषिकेशनारायण श्रेष्ठलाई कम्पनीको तर्फबाट २५ थान कम्बल हस्तान्तरण गरेकी थिइन् । ती कम्बल अस्पतालका बिरामीका लागि उपयोग गरिने छ ।

त्यसैगरी, भूकम्पबाट अति प्रभावित जिल्लालगायत अन्य ६ वटा जिल्लाका एक–एक वटा सामुदायिक विध्यालयमा आइसिटी सेन्टर स्थापना गरिदिने कार्यक्रम अनुसार भूकम्प प्रभावित ११ वटा जिल्लामा कार्य सम्पन्न भइसकेको टेलिकमले जनाएको छ । लमजुङ, डडेलधुरा, उदयपुर, जुम्ला र रुकुम जिल्लाका एक–एक सामुदायिक विध्यालय निकट भविष्यमा नै आइसिटी सेन्टर स्थापनाका लागि तयारी अन्तिम चरण पुगेको जनाएको छ।

यसैबीच, टेलिकमकी प्रबन्ध निर्देशक राजभण्डारीले शान्ति निकेतन माध्यमिक विध्यालय भक्तपुरमा कम्पनीको सहयोगमा स्थापना गरिएको आइसिटी सेन्टरको हालै शुभारम्भ गरिन् । उक्त सेन्टरका लागि कम्पनीले पाँच थान कम्प्युटर, पाँच थान वेब क्याम, पाँच थान माइक्रोफोन सहितको हेडसेट र एक थान थ्री इन वान प्रिन्टर उपलब्ध गराएको छ। सो प्रयोजनका लागि एक लाइन वाइम्याक्स डाटा कनेक्सन, वाइफाई राउटर र ओडियू सेट समेत उपलब्ध गराउनुको साथै इन्टरनेट चलाउनका लागि दुई वर्षसम्म मासिक रुपमा ३० जिबी डाटा निःशुल्क उपलब्ध गराएको छ।आइसिटी सेन्टर शुभारम्भ कार्यक्रममा राजभण्डारीले इन्टरनेट सेवालाई शिक्षण सिकाइ क्रियाकलापमा अधिकतम प्रयोग गर्न आग्रह गरिन् ।

यी दुवै कार्यक्रममा कम्पनीका प्रमुख व्यावसायिक अधिकृत प्रदीपराज उपाध्याय, प्रबन्धक प्रतिभा बैद्य तथा प्रबन्धक रिना डंगोलका साथै अन्य सम्बन्धित कर्मचारीको समेत उपस्थिति रहेको थियो । नेपाल टेलिकमले कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता विभिन्न सेवामूलक कार्य गरेको हो । आगामी दिनमा समेत यस्ता कार्यलाई निरन्तरता दिन कम्पनी प्रतिवद्ध छ।