असोजमा ‘ड्रिम गर्ल’

१४ बैशाख २०७५, शुक्रबार ०७:३२

वैशाख १४, काठमाडौं ।

आगामी असार २९ लाई रिलिज मिति तोकिएको फिल्म ‘ड्रिम गर्ल’को प्रदर्शन अब असोज १९ मा हुने भएको छ । निर्देशक ऋषिराज आचार्यले असोज १९ गते फिल्म रिलिज गर्ने घोषणा गरेका हुन् ।

उक्त प्रेमकथाको फिल्ममा आकाश श्रेष्ठ, आश्मा गिरी,सरोज खनाल, अर्जुन श्रेष्ठ, विल्सनविक्रम राई, शिशिर भण्डारी, पूजा पराजुली, निर्मल शर्मा ‘गैडा’, लक्ष्मी गिरी, रश्मी भट्ट, सुरवीर पण्डित लगायतले अभिनय गरेका छन्। ।

आरबी मुभीजको ब्यानरमा बनेको फिल्ममा निर्देशक ऋषिराज, अर्जुन शर्मा र रामेश्वर धितालको लगानी रहेको छ । काठमाडौ, मुस्ताङ तथा थाइल्याण्डमा खिचिएको फिल्मको सहनिर्मातामा दक्षिण भारतको रिल एण्ड रियल सिनेमा कम्पनी छ ।

फिल्ममा राहुल राईको छायांकन, अर्जुन पोखरेलको संगीत, गम्भीर विष्टको कोरियोग्राफी र नवीन निरौलाको सम्पादन छ ।

निर्देशक ऋषिराजले विदेशबाट फिल्मको माग भइरहेकाले देशबाहिरको प्रदर्शन पछि नेपालमा रिलिज गरिने बताएका छन् ।

निर्देशक ऋषिराजका अनुसार ‘फिल्मको विदेशबाट निकै माग आइरहेकोले हामीले प्रदर्शन मिति केही पर सारेका हौ । उक्त फिल्मलाई अष्ट्रेलिया, युरोप तथा खाडी मुलुकमा प्रदर्शन गरिएको छ । उनका अनुसार फिल्मको जुन महिनाको दोश्रो साता कतार र तेश्रो साता पोर्चुगर्लमा विशेष सो हुने पक्का भइरहेको जनाएका छन् । त्यसपछि अमेरिका, जापान, हङ्कङ, कोरियालगायतका देशमा पनि प्रदर्शन हुने कुरा बताए ।