अर्जुननरसिंहले भने–ओली सरकार निरंकुश

८ मंसिर २०७५, शनिबार १०:३३

बुटवल । नेपाली कांग्रेसका प्रभावशाली नेता अर्जुननरसिंह केसीले सरकारको कडारुपमा आलोचना गरेका छन । प्रेस युनियन रुपन्देहीद्वारा बुटवलमा आयोजित पत्रकार सम्मेलनमा नेता केसीले सरकारको आलोचना गरेका हुन ।

सरकारका ९ महिने कार्यकालको समीक्षा गर्दै उनले ९ महिना गफमै बितेको बताए । चुनावका बेला बाँडेको आश्वासन पूरा गर्नेतर्फ नलागी सरकार जनहित विपरीत हिँडेको केसीको गंम्भिर आरोप छ । ‘लोकतन्त्रको जामा पहिरे पनि सरकारको यात्रा निरंकुशतातर्फ मोडिएको छ’, केसीले सरकारबारे कडा टिप्पणी गर्दै भने ।‘ओली नेतृत्वमा सरकार गठन भएको नौ महिनामा जनताले केही पाएका छैनन्’, केसीले भने, ‘ चुनावमा बाँडेको झुटको खेतीले ओली सरकार आफैं जनता सामु झुक्न थालेको छ ।’ केसीले लोकतन्त्रको जामा पहिरेर निरंकुशताको बाटोमा सरकार अघि बढेको भन्दै असन्तुष्टि प्रकट गरे ।

पार्टी सभापति शेरबहादुर देउवाले हुकुमी शैलीमा पार्टी सञ्चालन गर्न खोजेको आरोप लगाएका छन् । पार्टी नेतृत्व व्यक्तिमुखी नभएर संस्थामुखी भएको भन्दै उनले त्यो मान्य नहुने बताए ।‘पार्टी नेतृत्व व्यक्तिमुखी नभएर संस्थामुखी हुनुपर्छ’, नेता केसीले भने, ‘हुकुमी शैलीमा सभापतिले जसरी पार्टी सञ्चालन गरिरहनु भएको छ, यो अमान्य छ ।’सामुहिक नेतृत्वमा चल्नुपर्ने पार्टी व्यक्तिमुखी हुँदा सबैतिर भद्रगोल भएको भन्दै उनले कार्यशैली सच्याउन देउवालाई आग्रह गरे । पार्टीनिकट नेपाल विद्यार्थी संघ नेविसंघमा संकट देखिरहेका बेला उनले त्यसलाई देउवा शैलीकै उपज भएको बताए । संस्थागत संरचनाको नयाँ युगमा पार्टी प्रवेश गरेकाले एकपटकको हारले कांग्रेसको योगदान, आदर्श र इतिहास नसकिने उनले दाबी गरे ।