अर्घाखाँचीमा टेलिकमको टावर जलाइयो, एनसेल टावरमा विस्फोट र आगजनी

१६ श्रावण २०७६, बिहीबार ११:५३

काठमाण्डौ , देशका विभिन्न जिल्लामा रहेका एनसेलको टावरमा आगजनी र विस्फोट भएको छ । ललितपुर, धादिङ, डोटी, कैलाली, डडेल्धुरा र पर्वतमा रहेका एनसेलको टावरमा विस्फोट र आगजनी भएको प्रहरीले जनाएको छ ।

डोटीको जोरायल गाउँपालिका – १ गोगनपानीमा रहेको एनसेलको टावरमा बुधबार राति आगजनी भएको छ ।
आगजनीबाट टावरमा उपकरणहरु जलेर नष्ट भएका छन् ।
कैलालीको धनगढी उप–महानगरपालिका– ६ जालीमा रहेको एनसेल टावरमा पनि आगजनी भएको छ । प्रहरीका अनुसार बुधबार राति सवा १२ बजेको समयमा आगजनी भएको हो । आगजनीबाट टावरका व्याट्रीहरु जलेका छन् ।
डडेल्धुरामा पनि एनसेलको टावरमा आगजनी भएको छ । आलिताल गाउँपालिका–२ काफलीडाँडामा रहेको टावरमा आगजनी गरिएको हो ।
यस्तै, धादिङ सिद्धलेक गाउँपालिका –६ सुनौलाबजार डाँडामा रहेको एनसेलको टावर र धुनीबेसी नगरपालिका– ४ देवीस्थानमा रहेको एनसेल टावरमा आगजनी भएको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।
पर्वतको मोदी गाउँपालिका– ६ तिलाहार थानाकोटमा रहेको एनसेलको टावरमा पनि बुधबार राति आगजनी भएको छ । आगलागीबाट टावरमा भएको क्षतिको विषयमा पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
यसैगरी, अर्घाखाँचीको पाणिनि गाउँपालिका ५ मा रहेको नेपाल टेलिकमको टावरमा पनि आगजनी भएको छ । परिचय नखुलेको मानिसहरुको समूहले विस्फोट र आगजनी गरेको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।