अर्घाखाँचीको चिनारी

१९ श्रावण २०७७, सोमबार १६:५६

लोक गायक मोतिराज खनाल ,


अर्घाखाँची पर्यटकीय र धार्मिक हिसाबले धेरै महत्व बोकेको ठाउँ हो । हामीले यसको प्रचारप्रसार विश्वले चिन्ने गरी गर्नुपर्छ । अर्घाखाँची विविध खालका जंगल, कलाकृतिले भरिपूर्ण, ताल तलैया र मठमन्दिरले सजिएको सुन्दर एवं प्रकृतिक वस्तुले भरिपूर्ण ठाउँ हो । यहाँका सुन्दरता तालतलैया, मठमन्दिर, पहाडका टाकुरा, यहाँको प्रकृतिमा रमाएका हरिण, मृग, खरायोजस्ता जंगली जनावरका लुकामारी देखेर जो कोही आनन्दित, प्रफुल्लित र मोहित हुन सक्छ ।
गोरुसिंगे–सन्धिखर्क सडक हुँदै यात्रा गर्दा चिसो अनुभव हुने समयमा सितगंगा–१ म सडकको छेउमा सुन्दर सुपा देउरालीको मन्दिर देख्न पाइन्छ । यस देउरालीको महिमा यहाँका सबैको मनमा गुम्फिएर बसेको छ । परम्परादेखि नै यस देवालयको संरक्षण हाल सन्धिखर्क नगरपालिका अन्तर्गतको खाँचीकोट र सितगंगा नगरपालिका अन्तर्गतको सितापुरका बासिन्दाले गर्दै आएका छन् । यो धार्मिकस्थल महेन्द्र राजमार्गको गोरुसिंगेबाट ४७ किलोमिटर दूरीमा अग्लो पहाडको भिरमा अवस्थित छ । त्यही मन्दिरको माथिपट्टि भिर काटेर गोरुसिंगे–सन्धिखर्क सडक बनाइएको छ ।
इतिहासमा उल्लेख भए अनुसार बिक्रम संवत १९१६ मा बाइसे चौबिसे राजाहरुको पालामा खाँचीकोटे राजकुमार र बलरामपुरकी राजकुमारीको विवाह भएको थियो । विवाह गरी फर्कंदा सीतापुरको मसानदेवी भन्ने ठाउँमा विवाह भोज खान दुवैतर्फका मान्छेहरु जम्मा भएका थिए । कुराकानीको प्रसंगमा खाँचीकोटका राजाले बलरामपुरकी राजकुमारीलाई झुक्याएर विवाह गरेकाले जात नमिलेको विषयमा विवाद भयो । राजकुमारले वधुलाई डोलीमा बोकाएर दरबारतर्फ लैजाने क्रममा हालको सुपा देउराली मन्दिरभन्दा ५० मिटर तल पुग्दा डोलीबाट रगतको थोपा खस्यो । अनर्थ भएको ठानी सबै जना आत्तिए । हाल देउराली माताको मन्दिर भएको ठाउँमा डोली बिसाएर राजकुमारीका प्राणपखेरु एडिसकेका थिए । राजकुमारीको निधनपछि खाँचीकोट राज्यमा रोगव्याधी व्यापक भयो । विध्नबाधा आई पर्न थाले । अदृश्य शक्तिले झन्झन् सताउन थालेपछि राजाले समस्या समाधान गर्न राज्यभित्रका वैद्य र धामीझाँक्रीहरु बोलाए । उनीहरुको प्रयासले व्याधी साम्य नभएपछि राजाले आफ्ना राजगुरुहरुसँग परामर्श लिए तैपनि केही सीप लागेन । महामारी फैलँदै गयो । आसपासका इलाकाहरुमा खाँचीमा व्याधीले सताएको कुरा फैलिँदै गयो । लामा र झाँक्री बोलाउने क्रम जारी रह्यो तर व्याधी नियन्त्रण हुन सकेन ।
राजाले छिमेकी गाउँ दमारमा बस्ने खनाल थरका विद्वान् पण्डितहरुले यो समस्या समाधान गर्न सक्ने कुरा राजाले सुने । राजाले खनाल पण्डितहरुलाई दरबारमा झिकाए । राजाले पण्डितहरुलाई व्याधी काबुमा नआएको सुनाए । पण्डितहरुले राजालाई रगत चुहिएपछि डोली बिसाएको स्थानमा जगत्जननी देवी भगवतीको सिद्ध स्थान भएको बताए । विवाह गर्न जाँदा राजाले देवीको सम्मान नगरिएकाले देवी क्रुद्ध भएको राजालाई बुझाइयो । राजाले सोधे, ‘हे गुरुवर १ अब मैले के गर्दा मेरो राज्यबाट व्याधी हट्छ रु शीघ्र बताउनुहोस् ।’ एक पण्डितले भने, ‘राजन १ अब हजुरले त्यस सिद्ध स्थानमा देवीको मन्दिर निर्माण गरी नित्य पूजा अर्चना गर्नुहोस् ।’
राजाले यथाशीघ्र उक्त स्थानमा देवीको मन्दिर निर्माण गरी विधिपूर्वक पूजा गर्न उनै खनाल पण्डितहरुलाई अनुरोध गरे । राजाको अनुरोधपछि खनाल पण्डितहरुले त्यहाँ पूजा अर्चना गर्न थाले । त्यो चलन हालसम्म यथावत् छ । विधिवत् पूजा चल्न थालेपछि रोगव्याधी हराउँदै गयो । त्यहि समयदेखि खाँचीका राजाहरुले सुपा देउराली मन्दिरमा दिवाली तथा कुलपूजा गर्न थाले ।

सुपा देउराली मन्दिरमा स्वच्छ मनले पूजा गरे अथवा भाकल गरे मनकामना सिद्ध हुन्छ भन्ने किंवदन्ती रहिआएको छ । अप्ठ्यारोमा परेको समय भाकल गर्दा मनकामना पूरा हुने विश्वास जनमानसमा अमिट छ । यो सडकमा गुड्ने सवारी साधनहरुले पनि मन्दिरमा भेटी चढाउने गर्छन् । यो मन्दिरमा भाकल पूरा गर्न टाढाटाढाबाट भक्तजन ओइरिने गर्छन् । दाङ, रोल्पा, कपिलवस्तु, गुल्मी, पर्वत, स्याङ्जा, बागलुङ, नवलपरासी लगायत ठाउँका भक्तजनको भाकल चढाउन प्रायः घुइँचो देखिन्छ । नेपालबाट मात्र नभई भारतका विभिन्न ठाउँबाट पनि भक्तजनहरु आएको पाइन्छ ।
अहिले सुपा देउराली मन्दिर प्रख्यात हुँदै गएको कुरा दमारका पुजारी चोपलाल खनाल, प्रसाप्रसा, घनश्याम खनाल, ठाकुर खनाललगायत पुजारीहरु बताउँछन् । यो मन्दिरको प्रसिद्धि विश्वमै पुरयाउने संकल्प सीतापुरका जनप्रतिनिधि गोवर्धन थापाले लिएका छन् । यस मन्दिरको प्रसिद्धिले यस भेगको विकासमा योगदान गर्ने स्थानीय बुद्धिजीवीहरुको ठम्याइ छ । मन्दिरमा संकलित भेटी दुई वटा विद्यालयको आर्थिक स्रोत भएको छ । आर्थिक विपन्नता भएका विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था पनि मन्दिरको आम्दानीबाट गरिएको छ ।
सितापुर र खाँचीकोटमा खानेपानी व्यवस्थापन, बिजुली, टेलिफोन टावर र स्वास्थ्य चौकीमा समेत मन्दिरले सहयोग पुरयाएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
यो मन्दिर माथि मसिनाको लेक छ । लेकमा विशाल मैदान छ । त्यहाँबाट उत्तरका हिमालयलाई राम्ररी नियाल्न सकिन्छ । सडकबाट माथि मसिनासम्म पुग्ने केबुलकार बनाउने हो भने यहाँ आउने पर्यटकलाई हिमाल अवलोकन गराउन सकिन्छ । यति गर्न सके मसिनाको लेकमा पर्यटकीय रिसोर्ट बनाई रोजगारीको माध्यम बनाउन सकिन्छ । आउने पर्यटकको सेवाका लागि स्थानीय कृषि प्रवद्र्धन गर्ने हो भने यहाँका युवा रोजगारीका लागि बिदेसिन पर्दैन । यसरी विकास गर्ने हो भने सुपा देउरालीको महिमा अझ बढ्दै जानेछ । सुपा देउराली मन्दिरलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिनु आवश्यक छ ।
सुपा देउराली मन्दिरमा भाकल गरेपछि ढिला गरे पनि भुल्नु हुँदैन भन्ने विश्वास रहिआएको छ । गोरुसिंगे–सन्धिखर्क सडक बन्नुअघि आवतजावत गर्न तल खोलाको किनारै किनार गोरेटो बाटो थियो । एक जना युवकले भारत जाँदा भाकल गरयो, ‘देवी, म लाहुरे सेनामा भर्ती हुन पाऊँ, छुट्टीमा पहिलो पटक आउँदा एक तोला सुन चढाउनेछु ।’ । ऊ भर्ती पनि भयो । पहिलो छुट्टीमा घर आउँदा सुन ल्याउन भुलेकाले बाटो छलेर घर जान खोज्दा त्यस युवालाई देवीले भित्तामा टाँसेको किंवदन्ती प्रचलित छ । लाहुरे टाँसिएको स्थान अर्थात् माथि पहरामा लाहुरे टाँसिएको निसानमा उसले बोकेको ब्याग र बाकस अहिले पनि छर्लंग देखिन्छ । त्यसकारण पनि यो ठाउँको महिमा र चर्चा बढ्दै गएको छ । यस मन्दिरमा दैनिक १० देखि ४० वटासम्म पाठापाठी र दुई सय जोडीसम्म परेवा चढाइने गरेको मन्दिर समितिको दाबी छ ।

अझ नवदुर्गा लागेपछि त दैनिक एक सय हाराहारी बलि चढ्ने मन्दिर समितिको भनाइ छ । औंसी, पूर्णिमा, श्राद्ध, श्रावण महिना, माघ महिना र एकादशी, अष्ट तृतीया, जन्माष्टमी, राम नवमी यी दिनहरुमा बलि पूजा गरिन्न ।
सुपा देउराली लाहुरे टाँसेको स्थानले मात्र लोकप्रिय बनेको होइन । यो स्थानभन्दा करिब आधा घण्टा ९दिशा खुलाउने० पैदल यात्रा गर्ने हो भने शिवजीले तीन पानेमा नुहाउने स्थान बाघको रुप धारण गरी घाम ताप्ने गरेका मूर्ति अनि शिवजीले हवन र यज्ञ गरेका स्थानहरु देख्न सकिन्छ । त्यसैगरी सुपा देउरालीदेखि आधा घण्टा टाढा खाँचीकोटमा द्वापर युगमा सीताजीले पारेका तितौरा र खाना पकाउने चुलो देख्न सकिन्छ । यस मन्दिरको पूर्व दिशामा भागिरथ राजाले गंगा ९के गरेकोरुरु० सिद्ध गुफा, धातीबाङ दुर्वाषा ऋषिले तपस्या गरेको ठाउँ दुर्वाश्वर गुफासहित अन्य शिलाहरु पनि देख्न सकिन्छ । उत्तर वाहिनी त्रिवेणी गंगा खिदिम पाणेनी तपोभूमि पणेना दह अवस्थित छ । आग्नेय दिशामा रावणले बजाएको शंख, पानीखाने धारा सीतापुर सितगंगा २ मा अवस्थित छ । सितगंगा नगरपालिकामै दक्षिणतर्फ रामचन्द्रले बाण हानी उत्पत्ति भएकी बाणगंगा नदी छिन् । सितगंगाकै ठाडामा डमरु दह छ । त्यस पुण्य भुमिमा काश्यपादी ऋषिहरूले लामो समय तपस्या गरेको किंवदन्ती छ । ऋषिहरुको तपस्या देखेर योगेश्वरी देवी प्रसन्न भई भनिन्, ‘हे ऋषि हो, म तपाईंहरुको तपस्याले प्रसन्न भएँ । वर माग्नु हवस् ।’ ऋषिहरुले चारै वेद हाम्रो अधीनमा रहुन् भन्ने वर माग्दा ईस्वरले तथास्तु भनेको स्थानलाई मसिनाको कुटी भनिन्छ । सितगंगाको पश्चिमतर्फ भरङ्गे गुफा, बाजा बजाउने ओढार एवं माई भगवती मन्दिर दमारमा पर्छन् । यस दमारको माथि मसिनाको लेक र तलतिर विभिन्न प्रकारका जडीबुटी पाइन्छन् । अनुसन्धान गर्ने हो भने यस ठाउँलाई देशकै नमुना जिल्ला बनाउन सकिने विभिन्न विज्ञहरुको मत छ । दमारको लेकमा पाइने टिमुर, मुले, हरचुर, कड्या हरचुर, कड्याङ हरचुर, कड्याङ, सेतो बैरो, सयजरी, मराटी, कालो हलेतो, पहेलो हलेतो, रक्ते मुला, सेतो गुराँस, रातो गुराँस, चौतारी, बाँज, बादलपाते, पस्रे, चिप्लेकिरालगायतको सदुपयोग गर्न सकेमा मुलुकलाई नै निरोगी बनाउन सकिने बुढापाका र वैद्यहरुको भनाइ छ । यस ठाउँका जडीबुटी पहिचान, संकलन र प्रशोधन गरिए युवाहरुलाई अन्य रोजगारीको खाँचो पर्दैन । पश्चिम दिशामा सिद्ध मसिना लेकमा ऋषिहरुले तपस्या गरी सिद्धि प्राप्त गरेको स्थान सिद्ध खोल्टी नामले प्रख्यात छ । मातुलेश्वर कुटीमा देवीको दायाँ स्तन पतन भएको हुनाले त्यस पुण्यभूमिमा मातुलेश्वर पीठ, योगेश्वरी देवी पिंगला योगिनी बधुराधेश्वर महादेव उत्पत्ति भई शिव शक्ति स्वरुपले रहनुभयो भन्ने किंवदन्ती रहि आएको छ । खाँचीकोटमा पर्ने पौराणिक सुप्रसिद्ध कालिका भगवती मन्दिर साथै वराह मण्डली मन्दिर पनि रहेको छ । नर्तनाचल पर्वतमा रावणले तपस्या गरेको तपोभूमि हाल नरपानी नामले चिनिन्छ । भगवान् विष्णुले नरसिंह अवतार लिएको स्थान बामरुक विष्णुगादीको प्रसिद्ध गुफा खन तिनधारे छहरा, शिरिङ्गा ऋषिको स्नानघाट बढाचौर खन प्रसिद्ध छन् । जरासिन्धु राजाले गंगा थुनेको जरेखोला वाङ्ला, गोपेश्वर पीठ मथुराबेंसी लामपाटी वाङ्ला लगायत अर्घाखाँची जिल्लालाई चिनाउने धेरै ठाउँ छन् । यहाँ उल्लेख गर्न छुटेका ठाउँको चिनारी थप खोज गरी उल्लेख गरिने नै छ ।